कर्णाली

संघीय बजेटमा कर्णाली : अर्गानिक ब्रान्डिङदेखि मेडिकल कलेज निर्माण

इकागज |
जेठ १६, २०८० मंगलबार १६:३३ बजे

सुर्खेत- संघीय बजेटमा कर्णालीका एक दर्जन बढी योजना समेटिएका छन् । ती योजनाहरूमध्ये कर्णालीको कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, पर्यटन र पूर्वाधार क्षेत्रलाई पनि समेटेर बजेट विनियोजन भएको छ । यसपालिको बजेटमा अधिकांश पुरानै योजनाहरू समेटिएका छन् । 

बजेटमा संघीय सरकारले सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने योजनालाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । केही वर्षयता संघीय सरकारको बजेटमा मेडिकल कलेज निर्माणको कार्यक्रम समेटिने गरेको छ । जसले आगामी वर्ष पनि निरन्तरता दिइएको हो ।


यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । कर्णालीमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजनामा पनि बजेटमा समावेश छ ।

सरकारले दैलेखमा रहेको पेट्रोलियम अन्वेषण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने भएको छ । पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । यसअघि नीति तथा कार्यक्रममा पनि यो योजना समावेश गरिएको थियो । सोही अनुसार बजेट विनियोजन गरिएको हो ।

दैलेखमा रहेको श्रीस्थान, नाविस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै भएको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा प्रमाणित भइसकेको छ । पेट्रोलियम अन्वेषण कार्यका लागि अन्तिम चरणको कामका लागि जग्गा अधिग्रहण गरिएको छ । अब सरकारले उच्च प्राथमिकता राखी पेट्रोलियम पदार्थको उत्खनन गर्ने जनाएको छ ।

यसैगरी संघीय सरकारले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने भएको छ । अर्थमन्त्री महतले कर्णाली प्रदेशको अर्गानिक उत्पादनलाई ब्रान्डिङ गर्ने घोषणा गरेका हुन् । त्यसैगरी बजेटमा कर्णालीका रैथाने बालीको उत्पादन खरिद गर्ने योजना उल्लेख गरिएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत रैथाने बालीको उत्पादन खरिद गर्ने जनाएको छ । रैथाने उत्पादन अन्तर्गत कोदो, फापर, भटमास, उवा, कागुनोलगायतका खाद्ययवस्तु खाद्य कम्पनीले खरिद गर्ने र त्यसको बजारीकरण गर्नेछ ।

कर्णालीका दशवटै जिल्लामा एकीकृत कर्णाली सिँचाइ विकास आयोजना सञ्चालन गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानीको संकट टार्ने आयोजनाका रूपमा हेरिएको भेरी पम्पिङ आयोजना अघि बढाइने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त आयोजनाका लागि बजेट विनियोजन गरिएको छ । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका आयोजना अघि बढाइने छ ।

यस्तै कर्णालीको पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि पनि सरकारले बजेट छुट्याएको छ । अर्थमन्त्री  प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ मा सल्यानको छत्रेश्वरी र दैलेखको पञ्चकोशी पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिने जनाए ।

रुकुमपश्चिको चौरजहारी विमानस्थल र जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा दुई वटा विमानस्थल स्तरोन्नति गरिने भएको हो ।

कर्णाली करिडोरलाई पूर्णता दिन झन्डै एक अर्ब बजेट छुट्याइएको छ । खुलालु–सल्लीसल्ला र हिल्सासम्म सडकको स्तरोन्नतिका लागि ९७ करोड बजेट  विनियोजन गरिएको हो । भेरी–बबई डाइभर्सनको बाँकी काम अघि बढाइन डेढ अर्ब विनियोजन भएको छ । डाइभर्सनको निर्माण कार्यका लागि एक अर्ब ७४ करोड बजेट विनियोजन गरिएको हो । 


Author

थप समाचार
x