कर्णाली

सल्यान अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सञ्चालन

इकागज |
जेठ १, २०७८ शनिबार २०:१३ बजे

सल्यान : सल्यान अस्पतालमा आजदेखि अक्सिजन कन्सन्ट्रेटर सञ्चालन गरिएको छ । जनशक्ति अभावको कारण जिल्लामा आएको लामो समयपछि अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो ।

कर्णाली प्रदेश सरकारको सहयोगमा तथा सल्यान अस्पतालको व्यवस्थापनमा प्लान्ट सञ्चालन भएपछि अस्पतालमा हुने अक्सिजन अभावलाई केही हदसम्म कम हुने अस्पतालले जनाएको छ । कर्णाली प्रदेश सरकारको रु ५१ लाखको आर्थिक सहयोगमा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । 


कन्सन्ट्रेटर जडान भएसँगै अक्सिजन दिनुपर्ने कोरोना सङ्क्रमित बिरामीहरूको उपचारमा सहज हुने बताए । अस्पतालमा क्षमताभन्दा बढि कोरोना सङ्क्रमित बिरामीहरूको उपचार गर्नुपरेपछि केही दिन यता अस्पतालमा अक्सिजनको अभाव हुन थालेको थियो । 

“अस्पतालमा जडान गरिएको कन्सन्ट्रेटरले प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्छ । यसबाट प्रतिमिनेट ५ लिटर अक्सिजन दिनुपर्ने ८ बिरामीलाई एकैसाथ अक्सिजन दिन मिल्छ”, सल्यान अस्पतालका डाक्टर भिमकान्त जैशीले भने। 

अस्पतालमा जडान भएको कन्सन्ट्रेटर अक्सिजन प्लान्टभन्दा बढी क्षमता भएको डा जैशीले जानकारी दिए । अस्पतालमा भएका अक्सिजन सिलिन्डर अक्सिजन भर्न सुर्खेत तथा नेपालगञ्ज लिनुपर्ने तर समयमा पालो पाउन नसकेपछि अक्सिजन लिइरहेका बिरामी प्रभावित हुँदै आएका थिए । अक्सिजन कन्सन्ट्रेटर जडान गरेपछि अक्सिजन लिइरहेका बिरामीलाई केही हदसम्म सहज हुने अस्पतालले जनाएको छ । 

सल्यान अस्पतालमा १४ अक्सिजन सिलिन्डर रहेकोमा हाल विभिन्न व्यक्तिका सहयोगमा अक्सिजन सिलिन्डरहरू समेत अस्पतालमा उपलब्ध गराइएको छ । यसले अस्पतालमा कोरोना सङ्क्रमितहरूको उपचारमा सहज हुँदै जान थालेको छ । 

जिल्लामा कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गएपछि सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि शनिबारसम्म २२ पुगेको छ । पछिल्लो समय होम क्वारेन्टिनमा बसेका सङ्क्रमितहरूको पनि ज्यान जान थालेको छ । अहिलेसम्म जिल्लामा होम क्वारेन्टिनमा बसेका ६ को मृत्यु भइसकेको छ । 

जिल्लामा हालसम्म ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २५ सल्यान अस्पतालमा र ४९३ जना होम आइसोलेशनमा रहेको अस्पतालले जनाएको छ । सल्यान अस्पालमा १६ शय्याको कोराना सङ्क्रमितहरूको उपचारका लागि आइसोलेशन वार्ड भएपनि बिरामीको चाप बढ्न थालेपछि अस्पतालले आकाश्मिक कक्षसमेत कोरोना सङ्क्रमितहरूको उपचारका लागि प्रयोग गरेको छ । 

स्थानीय तहहरूले निर्माण गरेका आइसोलेशनमा सङ्क्रमित नबस्ने तथा सल्यान अस्पतालमा आउने बिरामीको सङ्ख्या बृद्धि हुन थालेपछि सल्यान अस्पतालमा २० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । शारदा नगरपालिकाको रु ५ लाखको आर्थिक सहयोगमा नेपाली सेनाको सवुज गणले निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । रासस
 


Author

थप समाचार
x