कर्णालीमा सीता नेपाली र गोपाल शर्मा फेरि मन्त्री नियुक्त
काठमाडौँ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री शाहीले माओवादीबाट दुई जना सांसदलाई फेरि मन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएका हुन् ।
मन्त्री बन्नेमा सीता नेपाली र गोपाल शर्मा छन् । यसअघि नेपाली र शर्माका साथै बिन्दमान बिष्ट मन्त्रीमा नियुक्त भएपनि शपथ नखाँदै तीनै जना बर्खास्तीमा परेका थिए । तर मुख्यमन्त्री शाहीले आइतबार बेलूकी सीता नेपालीलाई आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् । यस्तै गोपाल शर्मालाई आर्थिक तथा योजना विकासमन्त्रीमा नियुक्त गरिएको छ ।
यसअघि भौतिक विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त गरिएको थियो भने बिन्दमान बिष्ट आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिएका थिए । तर सत्ता साझेदारी गरेको कांग्रेसले तीव्र असन्तुष्टि जनाएपछि मुख्यमन्त्री शाहीले तीनै जना मन्त्रीलाई बर्खास्त गरेर सामाजिक विकाससहित चार वटै मन्त्रालय आफूसँग राखेका थिए ।
लगातार दुई दिन कांग्रेस र एमाले माधव नेपाल पक्षका नेतासँग वार्ता गरेका मुख्यमन्त्री शाहीले आइतबार बिन्दमान बिष्टलाई आउट गरेर सीता नेपाली र गोपाल शर्मालाई फेरि मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुको शपथ सोमबार हुने बताइएको छ ।
कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने निश्चित भएपनि मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन । जसकारण आइतबार कांग्रेसबाट मन्त्री नियुक्त हुन सकेनन् । कांग्रेसले सोमबार बिहानसम्म नाम दिएमा मन्त्री नियुक्त गरेर सोमबार एकसाथ शपथ गराउने तयारी रहेका मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।
यसअघि एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने तीन जना माधव नेपाल निकट सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्री नियुक्त गरिएको थियो । पार्टी ह्वीप विपरित फ्लोर क्रस गरेपछि नेकपा एमालेले प्रकाश ज्वालासहित फ्लोर क्रस गर्ने चारै जनालाई पार्टीबाट निष्काशन गरेको थियो । उनीहरु सांसद नरहेपनि ६ महिनाका लागि मन्त्री रहनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया