कर्णाली सरकारले ल्याएको बजेटमा असन्तुष्ट सांसद भन्छन् :
बिचौलियाबाट योजना आउँछ भने हामी माननीय भएकाे के औचित्य ?
सुर्खेत- कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमा सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा बोल्ने अधिकांश सांसदहरूले यस्तो गुनासो गरेका हुन् ।
बैठकमा सांसद विरबहादुर शाहीले आफूहरूले छलफलमा राखेका योजनाहरू बजेटमा समावेश नभएको बताएका छन् । ‘बिचौलियाबाट योजना आउँछ भने हामी माननीय भएको के औचित्य भयो र ?’ प्रदेशसभामा बोल्दै उनले भने, ‘बिचौलियाबाट योजना छान्ने काम भएको छ ।’
सांसद टेकराज पछाईले मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री र मन्त्रीकेन्द्रित बजेट आएको बताए । ‘अहिलेको बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित विनियोजित भएका छन्,’ उनी भन्छन्, ‘मुख्यमन्त्रीलाई कर्णालीकै भनेका थियौँ तर, उहाँ पश्चिम रुकुमको हुनुहुँदो रहेछ ।’
अर्का सांसद कल्याणी खड्काले बजेटमा बिचौलियाहरू हाबी हुन दिन नहुने बताइन् । अहिले लैंगिक बजेट ल्याए पनि अल्मल्याउन लागिएको उनको भनाइ छ । उनले बजेट विनियोजनमा सन्तुलन नभएको बताइन् । बिचौलियाको दबाबमा बजेट ल्याइएको भन्दै उनले यसरी ल्याइएको बजेट कार्यान्वयनमा जटिल हुने औंल्याइन् ।
सांसद घनश्याम भण्डारीले बजेटमा भएका राम्रा पक्षलाई कार्यान्वयन गर्दै नराम्रा पक्षलाई सुधार गर्न जरुरी रहेको औंल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया