वीरेन्द्रनगरमा रंगशालाको निर्माणको काम धमाधम: लक्ष्य १० औं राष्ट्रिय खेलकुद
सुर्खेत। आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने तय भइसकेको छ ।
आज कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रंगशालाको अनुगमनसमेत गरेका छन् । अवसरमा मन्त्री सिंहले रंगशाला निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन् । वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गर्दै मन्त्री सिंहले रंगशालाको लागि पर्याप्त बजेट विनियोजन गर्ने बताएका हुन् ।
‘अर्थमन्त्रीका रूपमा रहुन्जेल बजेटको कुनै चिन्ता नमान्नुहोस्, प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि बजेटको अभाव हुन दिन्नँ । पर्याप्त बजेटको व्यवस्था गर्छु’ मन्त्री सिंहले भने, ‘खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय रहेको छ र यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर रहेको छ ।’
मन्त्री सिंहले रंगशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले आर्थिक २०८०/८१ को बजेटमा प्रदेश रंगशालाका लागि ८५ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै त्यो रकम अपुग भएमा स्रोत सुनिश्चित गराउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश रंगशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताए । मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने असवर पाएकाले त्यसलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया