कर्णाली

कोभिडले एकै वडामा ९ जनाको मृत्यु

इकागज |
जेठ ४, २०७८ मंगलबार ९:३३ बजे

फाइल तस्बिर

दैलेख : दुल्लु नगरपालिका-१२ गौरीमा कोभिड-१९ संक्रमणबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोभिड सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोभिड परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा  ज्वरो आउने, शरीर, छाती दुख्‍ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । 

उनीहरूको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोभिडका कारण मृत्यु भएको हो ।


एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु-१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । 'रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ,' भण्डारी बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ । रासस


Author

थप समाचार
x