कर्णाली

बेरुजु असुल गर्न निर्देशन

इकागज |
असार १५, २०८० शुक्रबार १६:२२ बजे

सुर्खेत- कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कर्णाली प्रदेश मन्त्रालय मातहतका सरकारी कार्यालयहरूलाई बेरुजु असुल गर्न निर्देशन दिएको छ । लेखा समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु र त्यसको फर्छ्यौटको विषयमा वृहत् रूपमा छलफलपछि यस्तो निर्णय गरिएको लेखा समितिका सदस्य सन्तोषी शाहीले जानकारी दिइन् ।


‘बैठकले बेरुजु असुल उपर गर्नु पर्ने विषयमा पदाधिकारी तथा कर्मचारीहरूको नाममा रहेको बेरुजु असार महिना भित्रै असुल उपर गराउने  निर्णय गरेको छ,’ बैठकको निर्णयका विषयमा जानकारी दिँदै शाहीले भनिन्, ‘कर्णाली प्रदेश बेरुजुमा अगाडि देखिएकाले यस्तो निर्णय गर्नुपरेको हो ।’ कतिपय कर्मचारीका नाममा पनि बेरुजु देखिएकाले सो असुल गर्न निर्देशन दिएको उनको भनाइ छ ।

महालेखापरीक्षकको कार्यालयले कर्णाली प्रदेश सरकार र सरकार मातहतका कार्यालयहरूमा नियमित बेरुजु, असुल उपर बेरुजु र पेस्की बेरुजु भएको देखाएको छ । त्यसमा असुल उपर गर्नु पर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ बराबरको रहेको छ । उपभोक्ता समिति, ठेकेदार पदाधिकारी र कर्मचारीहरूको नाममा रहेको छ ।

सुरुवाती चरणमा तत्काल समितिले पदाधिकारी र कर्मचारीहरूको तलब भत्ताबाट कटौती गरी असुल उपर गर्न निर्देशन दिएको छ । विगतमा संसदीय समितिहरू निष्क्रिय रहेता पनि अहिले सक्रिय हुन थालेको समितिका सदस्य शाहीको भनाइ छ । समितिले निरन्तर खवरदारीका कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
 


Author

थप समाचार
x