कर्णाली

वर्षेनि हराउँदै स्थानीय जातका बाली

इकागज |
असार १७, २०८० आइतबार १३:५८ बजे

सुर्खेत ।   सुर्खेतका कृषक विरबहादुर वलीको खेतमा गोपाले जातको धानको बीउ फल्न छाडेको १५ वर्ष भयो । यसको सट्टामा उनले विन्देश्वरी तथा मसुली जातका धान लगाउँदै आएका छन् । ‘गोपाले जातको धान लगाउने हो भने अहिलेको अवस्थामा खानै पुग्दैन’  ६७ वर्षीय वलीले भने, ‘पेट भर्नका लागि पनि लगाउँदै आएको बालीलाई बिर्सनुपर्ने बाध्यता छ ।’ खानका लागि स्वाद मिठो भएतापनि स्थानीय जातले जिविका नचल्ने भएपछि अरु हाइब्रेड जातका बालीहरु लगाउनुपरेको उनले बताए । 

तीन दशकअघि वलीको परिवार सानो थियो । प्रशस्त उब्जाउ जमिन थियो । त्यसमाथि पनि खेतीबालीलाई पुग्ने पानी पर्याप्त मात्रामा आउँथ्यो । गोठको कम्पोष्ट मलको प्रयोग हुन्थ्यो र खेती बालीमा रोग पनि लाग्दैनथ्यो । जसले गर्दा स्थानीय जातका बालीले प्रशस्तै खान पुग्थ्यो । ‘अहिले जग्गा उही हो परिवार बढिरहेको छ’ वलीले भने, ‘त्यसमाथि समयमा पानी पर्दैन र रोग किराको प्रकोपले गर्दा पनि उब्जाउ घटिरहेको छ । त्यसकारण  स्थानीय जातलाई सुहाउँदो हावापानी र माटोको अभाव छ ।’ 


एक दशक यता वीरेन्द्रनगरकी राधा पौडेल पनि उन्नत जातको बीउतर्फ आकर्षित छन् । स्थानीय जातका बीउले खानै मुस्किल भएकाले अहिले उन्नत जातका बीउको प्रयोग गर्न थालेको बताइन् । ‘उहिले परिवार सानो थियो थोरै भएपनि खान पुग्थ्यो’ राधाले भनिन् ‘तर अहिले भाइ—भाइको जग्गा बाँडिएको छ र खेती गर्ने जग्गा घटिरहेकाले स्थानीय जातको खानै नपुग्ने भयो ।’ त्यसमाथि समयमै पानी नपर्नुको साथै विभिन्न रोग किराको प्रकोपको कारण नयाँ तथा हाइब्रेड जातका बालीहरु लगाउन थालेको उनको भनाइ छ । खेतीयोग्य जमिन घट्दै गएकाले पनि स्थानीय जातका बाली लगाउन नसकिएको उनले बताइन् ।

वली र पौडेल मात्र होइन यस क्षेत्रका कृषकहरु स्थानीय जातका बीउ लगाउनै छोडिसकेका छन् । उहिले समयमै पानी पर्नुको साथै रोग किराहरुको प्रकोप नहुँदा उब्जनी राम्रो हुने गरेको सुर्खेतको गढीका कृषक ललिता धामीले बताइन् । ‘पहिले यही जग्गाको उब्जनीले बेच्नसम्म पुग्थ्यो तर अहिले राम्रोसँग खानै पुग्दैन’ उनले भनिन्, ‘अहिलेका नयाँ —नयाँ जातका रोगले गर्दा पनि उब्जनी हुन दिँदैन ।’ 

सुर्खेतमा पाइने गुडे, परान पिउली,गोपाले, घैयालगायतका स्थानीय जातका बीउहरु लोप भएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रलयले जनाएको छ ।

बढ्दो जनसंख्या र खेतीयोग्य जमिन घट्दै गएका कारण स्थानीय जातलाई छोडेर उन्नत जातका बालीहरु लगाउनुपरेको मन्त्रालयको भनाई छ । रोग किराहरु नलाग्ने, सुख्खा सहने जस्ता उन्नत बीउको प्रयोगलाई जोड दिइएको मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले जानकारी दिए । बढ्दो जनसंख्यालाई स्थानीय जातका बीउले प्रयाप्त नभएकाले पनि उब्जाउ धेरै हुने बीउहरु लगाउन कृषकहरुलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।  पछिल्लो समय मकवानपुर, सावित्री, मनसुली, हर्दिनाथ, राधा ४, सुख्खा १ सुख्खा २ जस्ता जलवायु परिवर्तन अनुकुलका बीउहरु लगाउनको लागि सिफारिस गरिएकोे छ ।  

कर्णालीमा कुल २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । २ लाख १६ हजार  सय ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । जसमध्ये ४५ हजार ४६८ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुन्छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा करिव तीन लाख मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ तर, वर्षमा डेढ लाख मेट्रिकटन खाद्यान्न उपलब्ध हुँदै आएको छ । 


 


Author

थप समाचार
x