कर्णाली

कर्णालीमा सत्ता र प्रमुख प्रतिपक्षीबीच सहमतिपछि संसदको गतिरोध हट्यो

इकागज |
असार १७, २०८० आइतबार १५:१० बजे

सुर्खेत- कर्णाली प्रदेशमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएसँगै संसद्को अवरोध हटेको छ । आइतबार सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले विभिन्न सात बुँदे निर्णयहरू गरेको छ ।

बैठकमा १५ लाखभन्दा कम रकमका योजनामा विनियोजन भएको रकमका हकमा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । आगामी आर्थिक वर्षमा सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने लगायतका निर्णय भएका छन् ।


त्यसैगरी बैठकमा ताल तलैया, बीउ विजन तथा क्रमागत योजनाहरूमा विनियोजित रकमबाट योजनाले पूर्णता पाउने भए उक्त, योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

यस्तै सशर्तको नाममा सङ्घीय सरकारबाट स–साना योजनाहरूमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डको आधारमा मात्र सशर्त योजनाहरूमा रकम विनियोजन गर्न सङ्घीय सरकारलाई प्रदेश सरकारमार्फत अनुरोध गर्ने, कार्य सम्पन्न भएका र दोहोरो रकम विनियोजन भएका योजनामा विनियोजित रकम अध्ययन पश्चात् मात्रै कार्यान्वयन गरिने व्यवस्था मिलाउने सहमति भएको छ ।

त्यसैगरी सडक र भवन निर्माण योजनाहरूको हकमा ३० लाखभन्दा कम रकम विनियोजित भएको भए उक्त योजना कार्यान्वयन नगर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । एमालेले यसअघि बजेट संशोधन लगायतका माग राख्दै एक साता यता सदन अवरुद्ध गर्दै आएको थियो । 


Author

थप समाचार
x