कर्णालीमा ६७ प्रतिशत बजेट खर्च
सुर्खेत- कर्णाली सरकारले ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश सरकारले कुल बजेटबाट २२ अर्ब २७ करोड ६६ लाख २८ हजार एक सय ४७ रुपैयाँ २३ पैसा बजेट खर्च गरेको हो ।
सरकारले चालु तर्फ ७२ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतका लेखा अधिकृत मिलनकुमार शर्माले जानकारी दिए । त्यसैगरी पुँजीगत तर्फ ६४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च भएको शर्माले बताए ।
२०७९/०८० का लागि कर्णाली प्रदेश सरकारले कुल ३२ अर्ब ९७ करोड १९ लाख ४२ हजार नौ सय ५५ रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाँकी १० अर्ब ६९ करोड ५३ लाख १४ हजार आठ सय सात रुपैयाँ ७७ पैसा बजेट असार २४ गतेसम्म पनि खर्च भएन । कर्णालीमा १० अर्ब बढी विनियोजित रकम खर्च नभएर ‘बजेट फ्रिज’ हुने देखिन्छ ।
मन्त्रालयगत रूपमा सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ । मन्त्रालयले ४५.७२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । ६७ करोड ३५ लाख ९९ हजारमध्ये ३० करोड ८० लाख कार्यान्वयन गरेको हो । सामाजिक विकास मन्त्रालयले ७१ दशमलव ४५ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको ६ अर्ब १३ करोड ८२ लाख २७ हजारमध्ये चार अर्ब ३८ करोड २९ लाख ९७ हजार खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ६५ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६० दशमलव १० प्रतिशत बजेट कार्यान्वयन गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब १२ करोड ८८ लाख ८३ हजार विनियोजन गरिएको थियो । जसमध्ये ५४.९० प्रतिशत मात्रै खर्च भएको छ । ६ अर्ब दश करोड ९२ लाख दश हजार रुपैयाँ खर्च भएको हो । त्यसमा पनि ७०.४८ प्रतिशत चालुतर्फको खर्च हो भने पुँजीगततर्फ ५४.५३ प्रतिशत मात्रै छ । पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिए पनि मन्त्रालयले लक्ष्यअनुसार कार्यान्वयन गर्न नसकेको हो ।
यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चार अर्ब चार करोड ७८ लाख ७२ हजारमध्ये तीन अर्ब ३७ करोड ६ लाख ७४ हजार खर्च गरेको छ । खर्च प्रतिशतका हिसाबले यो सबै मन्त्रालयहरूको भन्दा धेरै हो । ऊर्जा मन्त्रालयले ८३ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको हो । त्यति मात्रै होइन यो मन्त्रालयले चालुभन्दा पुँजीगत खर्च बढी गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७०.०७ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । मन्त्रालयको कुल बजेट दुई अर्ब ४१ करोड ४० लाख ९१ हजार थियो । त्यसमध्ये एक अर्ब ६९ करोड ६४ लाख ६९ हजार बजेट कार्यान्वयन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ४२ करोड ५३ लाख ६४ हजार खर्च गरेको छ । उक्त मन्त्रालयका लागि दुई अर्ब १८ करोड ७६ लाख विनियोजन गरिएको थियो । ६५.१५ प्रतिशत खर्च गर्न सफल भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया