कर्णाली

मनपरी बजेट विनियोजन गरेपछि उपाध्यक्षले नै पिटिन् अध्यक्ष

इकागज |
साउन १, २०८० सोमबार २०:२३ बजे

फाइल फोटो

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् । 


गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिए । कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने बित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए । 

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए । 

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन् । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ । 

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । रासस


Author

थप समाचार
x