कर्णाली

अर्गानिक उत्पादन काठमाडौँ पठाउँदै कर्णाली

लक्ष्मी भण्डारी |
साउन २२, २०८० सोमबार १९:७ बजे

सुर्खेत- केही वर्ष अघिसम्म विदेशी चामल मात्र आयात गर्ने कर्णाली अहिले अर्गानिक खाद्यान्न निर्यात गर्न थालेको छ । भोकमरी र खाद्य संकटको पर्याका रूपमा मात्र चिनिँदै आएको कर्णाली अहिले खाद्यान्न प्रदेश बाहिर पठाउँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीका पालिकासँग रैथाने अन्न खरिद गरेको छ । कम्पनीले कर्णालीका रहेका मार्सी चामल, चिनो, कागुनो, सिमी लगायतका अर्गानिक उत्पादन खरिद गर्न थालेको हो । यसरी खरिद गरिएका खाद्यान्न काठमाडौँसम्म निर्यात गर्ने गरिएको छ । 

विदेशी चामल कर्णाली लगायतका खाद्य संकट हुने जिल्लामा निर्यात गर्दै आएको कम्पनीले गएको वर्षदेखि भने कर्णालीका रैथाने उत्पादनलाई पनि बाहिर निर्यात गर्न थालेको छ ।


२०७९/०८० मा कम्पनीले हुम्लाको सिमकोट गाउँपालिकाका कृषकहरू मार्फत ७३ क्विन्टल रैथाने उत्पादनहरू खरिद गरेको थियो । उक्त खाद्यान्न  काठमाडौँका लागि पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए । ‘यो थोरै परिणाममा मात्र खरिद गरेकाले काठमाडौँ मात्र पठाइएको हो,’ मिश्रले भने, ‘खाद्यान्न खरिदको मात्रालाई बढाएर अन्यत्र पनि पठाउने योजना बनाएका छौँ ।’

कम्पनीले गएको वर्ष हुम्लाको सिमकोट गाउँपालिकाबाट रैथाने उत्पादन खरिद गरिरहेको थियो । अबदेखि सिमकोटसँगै हुम्लाकै सर्केगाड र अदानचुली गाउँपालिकासँग पनि सम्झाैता भएको प्रमुख मिश्रले बताए ।

पालिकाले कृषकहरूबाट सोझै खरिदको व्यवस्था मिलाएका छन्, कम्पनीले भने पालिकासँग उत्पादन खरिद गर्छ । ‘हामीले पालिकासँग सम्झौता गरेका छौँ । त्यहिबाट खरिद हुन्छ,’ मिश्रले भने, ‘हुम्ला जिल्लासँगै कर्णालीका अन्य जिल्लाबाट पनि खाद्यान्न खरिद गर्नका लागि पहल थालेका छौ ।’

२०७९/०८० मा मात्र सिमकोट गाउँपालिकाबाट खरिद भएको १५ क्विन्टल सिमी,२५ क्विन्टल चिनो, १९  क्विन्टल फापर र १२ क्विन्टल कागुनो कम्पनीले काठमाडौँमा पुर्याएको छ । हुम्लाबाट खरिद भएका कर्णालीका रैथाने कृषि उपजहरू काठमाडौँमै प्रशोधन र प्याकेजिङको व्यवस्था गरिएको छ ।

कर्णालीमै प्रशोधन र प्याकेजिङको व्यवस्था गर्नका लागि मन्त्रालयसँग समन्वय गर्ने तयारीमा रहेको मिश्रले बताए । ‘यहीबाटै प्रशोधन र प्याकेजिङ गरी लोगो राखेर बाहिर निर्यात गरेमा प्रभावकारी हुन्छ,’ उनले भने, ‘यसका लागि मन्त्रालयसँग आग्रह गरेका छौँ ।’

काठमाडौँमा कर्णालीको रैथाने उत्पादनको माग राम्रो छ । काठमाडौँ महानगरले पनि दिवा खाजाको रुपमा कर्णालीकै रैथाने बालीलाई उपयोग गर्दै आएको मिश्रले जानकारी दिए । ‘काठमाडौँमा कर्णालीको खाद्यान्नको माग बढी छ,’ उनले भने, ‘यहाँबाट खाद्यान्न धेरै पठाउन सकेमा अझ प्रभावकारी हुने थियो ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सर्केगाड र अदानचुली गाउँपालिकासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेसँगै गाउँपालिकाले कम्पनीलाई सात प्रकारका रैथाने बाली किसानबाट खरिद गरेर उपलब्ध गराउनु पर्नेछ । कृषकहरूबाट खरिद गरी गाउँपालिकाले पहिलो चरणमा चिनो, कागुनो, र फापर पाँच–पाँच हजार क्विन्टल तथा सिमी दश हजार क्विन्टल कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ । सर्केगाड गाउँपालिकामा उत्पादन भएका रैथाने बालीका लागि जिल्ला प्राथमिक खरिद समितिले चिनोको चामललाई प्रतिकेजी एक सय २५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । त्यसैगरी कागुनोको चामल प्रतिकेजी एक सय ३५ रुपैयाँ, फापर प्रतिकेजी ८५ रुपैयाँ र सिमी प्रतिकेजी एक सय ४५ रुपैयाँ मूल्य निर्धारण गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एकमुस्ट रूपमा आफ्ना उत्पादन बिक्री गर्न सकिने भएपछि सिमकोट गाउँपालिकाका कृषकहरू समेत हर्षित भएका छन् । आफ्ना उत्पादनका सामग्री कम्पनीले खरिद गर्ने भएपछि खेती गर्न छोडिएका स्थानहरूमा समेत खेती गर्न सुरु गरिएको कार्यालय प्रमुख मिश्रले बताए । 


Author

थप समाचार
x