कर्णाली

जहाँ किशोरी र महिलालाई निःशुल्क प्याड दिइन्छ

लक्ष्मी भण्डारी |
जेठ ११, २०७८ मंगलबार १०:५ बजे

तस्बिर : प्याड वितरण गर्दै उत्तरगंगा स्वास्थ्य चौकीमा कार्यरत अहेव जमुना भण्डारी

सुर्खेत : वीरेन्द्रनगरकी २१ वर्षीया तुल्सी खत्री घर नजिकै रहेको उत्तरगंगा स्वास्थ्यचौकीबाट नियमित रुपमा सेनेटरी प्याड लैजाने गर्छिन् । तुल्सीले हरेक महिनामा स्वास्थ्य चौकीमा आएर प्याड लैजाँदै आएकी छिन् । कोभिड माहामारीका कारण भएको लकडाउनको समयमा पनि स्वस्थ्य चौकीबाट प्याड पाउँदा उनी खुसी छिन् । ‘पहिला पुराना कपडालाई प्याडको रुपमा लगाउने गर्थे । पोहोर सालबाट स्वास्थ्य चौकीमा आएर प्याड लैजान थालेकी छु’ तुल्सीले भनिन्, ‘बाहिर सरेको बेलामा (महिनावारी) कपडा भन्दा सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ ।’

महिनावारीको समयमा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएकी वीरेन्द्रनगरकी ४० वर्षीया जमुना गौतम पनि आजभोली नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन् । ‘स्वास्थ्यचौकीमा आएर प्रत्येक महिना प्याड लैजाने गरेकी छु’ जमुनाले भनिन्, ‘स्वास्थ्य चौकीबाट लगेको प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ ।’ महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले अहिले सरसफाईको रुपमा पनि बुझ्न थालेकी छन् । भन्छिन्, ‘यस्तो बेलामा सरसफाईमा ध्यान दिनुपर्ने रहेछ ।’


लकडाउनको बेलामा पनि स्वास्थ्य चौकीबाट निशुल्क प्याड पाएकोमा खुशी व्यक्त गर्छिन् वीरेन्द्रनगरकी पवित्रा चौलागाई । ‘पोहोरसाल लकडाउनको बेलामा बजार बन्द भएकाले प्याड नहुँदा पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौ’ उनले भनिन्, ‘अहिले स्वास्थ्यचौकीबाट निशुल्क प्याड दिन थालेपछि हामीलाई लकडाउनको बेलामा पनि सजिलो भएको छ ।’ त्यतिमात्र होइन उनले प्याड लिन स्वास्थ्य चौकी आएको बेलामा स्वास्थ्य जाँच पनि गराउने गरेकी छन् ।

गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले अब निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि  वीरेन्द्रनगरका नगरपालिकाका महिला र किशोरी खुशी भएका छन् । महिनावारीको बेलामा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएका नगरका महिला र किशोरीहरु आज भोली निःशुल्क रुपमा प्याड पाउँदै आएका छन् । प्याड लिन आउने महिलाहरु नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको उत्तरगंगा स्वास्थ्यचौकीमा कार्यरत अहेव जमुना भण्डारी बताइन् । 

नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिलामा महिनावारीको सचेतनाको साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको देखिएको उनले बताइन् । विरलै मात्रामा स्वास्थ्य चौकी जाने महिलाहरु कम्तिमा प्रत्येक महिना प्याड लिन आएको बेलामा सवस्थ्य जाँच गराएर जान थालेका छन् । ‘पहिला बिरामी भएपछि मात्र अस्पताल आउने महिलाहरु आजभोली अन्य बेलामा पनि स्वास्थ्य जाँच गराउने गरेका छन्’ अहेव जमुना भन्छिन्, ‘स्वास्थ्यचौकीमा आएको बेलामा आफ्ना प्रजनन् स्वास्थ्यको विषयमा पनि जानकारी लिने गरेका छन् ।’

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्दै आएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । प्याड वितरणसँगै महिनावारी स्वच्छताको विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम सुरुवात गरिएको उनले बताइन् । ‘महिनावारीको विषयमा जोडिएको नकारात्मक धारणा हटाउनुको साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो’ ढकाल भन्छिन्, ‘प्राय महिला स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी जाने प्रचलन छैन । त्यसैले स्वास्थ्य चौकीमार्फत प्याड वितरण गर्दा उनीहरु स्वास्थ्यचौकीमा जाने र स्वास्थ्य जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ ।’

नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र बजेटबाट निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर प्याड वितरण गर्ने कार्यक्रम राखेको उपप्रमुख ढकालले बताइन् । वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइदै आएको छ । यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘स्वास्थ्य संस्थामा प्रत्येक महिना प्याड लिन जाँदा महिलाको स्वास्थ्य जाँच पनि हुन्छ,’ उपप्रमुख ढकालले भनिन्, ‘यसले गर्दा आफ्नो स्वास्थ्यको हेरचाह गर्ने बानी बस्छ ।’ 

सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत पुयाउने उपप्रमुख ढकालको भनाई छ । महिनावारी स्वाच्छताको विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाहरुले सचेतना गराउनुको साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिएका छन् । नगरपालिकाकाले निःशुल्क प्याड वितरणसँगै गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे, निःशुल्क एम्वुलेन्स सेवा र पाठेघर उपचारको निःशुल्क स्क्रिनिङ क्याम्प सञ्चालन गरेको छ ।  

 


Author

थप समाचार
x