कर्णाली

सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रदेश सरकारको निर्णय

रिफिलिङ सिस्टमसहितको प्लान्ट बनाउन दुई करोड बजेट

इकागज |
जेठ १२, २०७८ बुधबार ७:१० बजे

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठक

काठमाडौँ  : कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । कोभिड महामारीका कारण अक्सिजनको माग बढेका बेला आपूर्ति सहज बनाउन भन्दै सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट निर्माण गर्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रस्ताव गरेको अक्सिजन प्लान्ट निर्माणका लागि दुई करोड बजेट तत्कालै उपलब्ध गराउने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकले गरेको छ । यसका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई एक करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।


कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीता नेपालीले रिफिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट निर्माणका लागि तत्कालै काम अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिइन् ।

यस्तै बैठकले कोभिड १९ महामारी रोकथामका लागि रोकिएको बजेट भुक्तानी गर्ने, स्वयंमसेवक परिचालन गर्ने, खाद्यान्न खरिद र अनुदानका लागि स्थानीय तहलाई रकम भुक्तानी गर्ने, कोभिड महामारीमा खटिएका स्वास्थयकर्मीको करार अवधि असार मसान्तसम्म लैजाने लगायतका निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x