कर्णाली

मुख्यमन्त्री शर्माले सार्वजनिक गरे तीन महिने प्रगति

लगानी सम्मेलन तयारीदेखि विकास निर्माणसम्म

इकागज |
असोज ३०, २०८० मंगलबार १७:११ बजे

सुर्खेत- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको प्रगति सार्वजनिक गरेका छन् । मंगलबार बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित प्रथम त्रैमासिक प्रगति सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन १ देखि हालसम्म प्रदेश सरकारले गरेका गतिविधिहरू सार्वजनिक गरेका हुन् ।

कार्यप्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले लगानी सम्मेलनको तयारीदेखि विकास निर्माणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । ‘चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ  र लगानी सम्मेलनको तयारी भइरहेको छ,’ मुख्यमन्त्री शर्माले भने, ‘प्राकृतिक विपद्मा परी बालीनाली क्षति भएका कृषकलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णय कार्यान्वयन अवस्थामा छ ।’ 


मुख्यमन्त्री शर्माले आफ्नो स्विट्जरल्यान्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको पनि बताएका छन् ।
शर्माले न्युन बजेट र जनशक्तिको अभावका बीच प्रदेश सरकारले कर्णालीका जनताहरूको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभूतिमा अहोरात्र खटिरहेको दाबी गरे ।

यस्तै, यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीन वटा विधेयक सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको तथा नौ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताए । प्रदेश सरकारले लिएको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको उद्देश्य पूरा गरी सरकारलाई जनउत्तरदायी बनाउन लागिपरेको उनको भनाइ थियो ।
    


Author

थप समाचार
x