बढ्दै आत्महत्याका घटना :
कर्णालीमा गरिबी र हिंसाले लिन्छ वर्षेनी दुई सय बढीको ज्यान
सुर्खेत- दुई वर्षअघि दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालिन् । मदिरा खाएर आउने श्रीमान्को हिंसा सहन नसकेपछि कर्णालीमा हाम फाल्न बाध्य भएकी हुन् ।
सुकीको शव भेटिएपछि जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको थियो । जसमा उनको पेटमा चार महिनाको भ्रुण रहेको खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्याको कारण श्रीमान्ले दिइरहने यातना र हिंसा रहेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुकीका श्रीमान् प्रहरी हिरासतमा छन् ।
यस्तै दुई वर्षअघि सुर्खेतको वीरेन्द्रनगरकी २५ वर्षीय महिलाले पनि आत्महत्या गरिन् । उनको आत्महत्याको कारण पनि श्रीमान् र घरपरिवारबाट पाएको हिंसा थियो । भागी विवाह गरेकी उनलाई माइती पक्ष कमजोर देखाउँदै घरपरिवारबाट गालीगलौजहरू गर्दै आएका थिए । माइती र घर दुवैबाट सहयोग नपाएपछि उनले आत्महत्याको बाटो रोज्न पुगिन् ।
गत वर्ष पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा २५ वर्षीय एक युवतीले आत्महत्या गरिन् । भारतबाट घरमा फर्किएकी उनी आत्महत्याको बाटो रोजिन् । गाउँमा ऋण तिर्न भारत गएकी उनी रित्तो हात घरमा फर्कनुको पीडा थियो । गरिबीको कारण उनी आत्महत्या गर्न बाध्य भएको उनका आफन्तहरूले बताए ।
गरिबी र हिंसाका कारण आत्महत्या गर्न बाध्य भएका यी त प्रतिनिधिमुलक घटना मात्रै हुन् । कर्णाली प्रदेशभर पछिल्लो चार वर्षमा एक हजार बढीले आत्महत्या गरेका छन् ।
प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ७४ जनाले आत्महत्या गरेको पाइएको छ । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी एक सय ९, दैलेखमा ४४ जना, सल्यानमा ४५ जना, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला ४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक रहेको छ । तथ्याङ्क अनुसार सुर्खेतमा ९२,सल्यानमा ५१, दैलेखमा ३७, जाजरकोटमा २०, रुकुममा २२,जुम्लामा १३, कालिकोटमा ९, मुगुमा तीन र हुम्लामा दुई जनाले आत्महत्या गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीका २ सय ४९ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ८६ जनाले आत्महत्या गरेका छन् । यस्तै २०७५/०७६ मा २ सय ५५ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यान र सुर्खेत आत्महत्याका घटना बढी भएको तथ्यांकमा उल्लेख छ ।
कर्णालीको सन्दर्भमा अधिंकाश अपराधका घटनाहरूमध्ये आत्महत्याका घटना बढी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । विशेषगरी कर्णालीमा गरिबी र हिंसाले गर्दा नै ज्यान जाने गरेको तथ्यांक रहेको छ ।
‘प्रहरी तथ्याङ्क अनुसार कर्णालीमा बढ्दो आत्महत्याको कारण गरिबी र घरेलु हिंसा देखिएको छ’ डिआइजी भीम ढकालले इकागजसँग भने, ‘यसमा विभिन्न तनावको कारणले गर्दा डिप्रेसन हुने र आत्महत्याको बाटो रोज्ने गर्छन् ।'
प्रविधिको दुरुपयोगबाट बढ्ने मानसिक तनाव, अशिक्षा र लागूऔषध पनि आत्महत्याको कारण देखिएको मानवअधिकारकर्मी किमसरा खत्रीको भनाई छ । आत्महत्या रोकथामका लागि हिंसालाई कम गर्न उच्च मनोबल वृद्धि हुने, जीवन उपयोगी सिपहरू, मनोसामाजिक ज्ञान र जनचेतनामा जोड दिनुपर्ने अधिकारकर्मी खत्रीको भनाई छ ।
प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार पछिल्लो समय आत्महत्याका घटनाहरू बढेको भन्दै यसको रोकथाममा सबै लाग्नुपर्ने बताउँछन् । ‘धेरैजसो घटनाहरू डिप्रेसनका कारण हुन्छन्’ उनी भन्छन्, ‘त्यसकारण डिप्रेसनमा गएका व्यक्तिहरूलाई परिवारबाट माया ममता दिएमा पनि केही हदसम्म यस्ता घटनाहरूलाई रोकथाम गर्न सकिन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया