कर्णाली

कर्णालीमा पहुँचवाला संक्रमितलाई हेलिकोप्टरबाट उद्धार, गरीबलाई बेवास्ता !

इकागज |
जेठ २१, २०७८ शुक्रबार ६:३१ बजे

फाइल फोटो

हुम्ला : कोभिड-१९ संक्रमणबाट हुम्लामा एक जनाको मृत्यु भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका २ रिप गाउँका ५७ वर्षीय टोप्ले विश्वकर्माको मृत्यु भएको हो । उनलाई श्वास प्रश्वासमा समस्या थियो ।

बुधबार उनको रिर्पोट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई श्वासप्रश्वासको समस्या बढेको थियो । उपचारका लागि घोडा चढाएर जिल्ला अस्पताल लैँजादै गर्दा बाटैमा मृत्यु भएको हो । श्वासप्रश्वासमा पटक पटक समस्या आएपछि आफन्तले गाउँपालिकासँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका थिए ।


तर गाउँपालिका र प्रदेश कर्णाली प्रदेश सरकारले बेवास्ता गर्दा उनको ज्यान गएको छोरा भीमबहादुर विश्वकर्माले गुनासो गरे । कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई अवस्था जटिल भएमा हेलिकोप्टरबाट उद्धार गर्ने निर्णय गरेको थियो । 

तर पहुँच नभएकै कारण समयमै उद्धारको पहल नगरिदिँदा उनले ज्यान गुमाउनु परेको छोराहरुको गुनासो छ । उनको गाउँमै शव व्यवस्थापन गरिएको छ । रिप गाउँ सदरमुकाम सिमीकोटबाट दुई दिनको पैदल दुरीमा पर्छ । 

केही दिन अघि जिल्ला स्वास्ंथ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि गाउँपालिकाको पहलमा उद्धार हुँदा उनको ज्यान जोगिएको थियो । हेलिकोप्टरको भाडा पचास प्रतिशत उनले पनि तिरेका थिए । आधा भाडा भने गाउँपालिकाले तिरेको थियो ।

हुम्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएका उनको तीन हप्तापछि बुधबार रिर्पोट नेगेटिभ आएको छ भने स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएको छ । 


Author

थप समाचार
x