कर्णाली

कारागारमा फैलियो कोभिड-१९

इकागज |
जेठ २३, २०७८ आइतबार २०:३२ बजे

जुम्ला : जुम्लाको कारागारमा पनि कोभिड-१९ संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोभिड-१९ संक्रमण देखिएको हो ।

कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण  देखिएको छ । कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दी मध्ये १५ जना पुरुषलाई कोभिड-१९ संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताए । 


उनले भने,'संक्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।' 

अन्य सङ्क्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रममणका लक्षण नदेखिएको जनाएको छ । 

आइतबारसम्म जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको छ । यस्तै कोरोना सङ्क्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा सङ्क्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x