कर्णाली

कर्णाली प्रदेश सभामा आज पनि एमालेको अवरोध कायमै

इकागज |
जेठ २६, २०७८ बुधबार १६:३२ बजे

काठमाडौँ: कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको विषयमा पनि कुनै निर्णय नभएकाले बैठकको काम कारबाही अघि बढ्न नसक्ने बताए।

उनले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ ३० गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफूहरूले स्वीकार गरे पनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए । उनले सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय वैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरेपनि त्यसबाट सरकार भागेको उल्लेख गरे । 


त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । सबै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको उनको आरोप छ । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो । यसअघि मंगलबार र बुधबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो । 


Author

थप समाचार
x