कर्णाली

'एक्कासी बाढी आएर जाली छोप्‍न खोज्दा दाईलाई बगायो'

इकागज |
जेठ २८, २०७८ शुक्रबार ८:५ बजे

दैलेख​ : बिहीबार बिहान परेको अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए । योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए । 

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको बताए ।


खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएको उनले बताए । प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन् । प्रदेश सरकारको रु १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ । रासस
 


Author

थप समाचार
x