कालिकोटमा कोभिड परीक्षणको दायरा बढाइने
कालिकोट : कालिकोटका नौ वटा स्थानीय तहमा कोभिड-१९को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोभिड-१९ महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।
कोभिड सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोभिड परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५/५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५/५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए ।
'समुदायस्तरमा नै कोभिड महामारी फैलिएको हुनसक्ने भएकाले कोभिड परीक्षणको दायरा बढाउन लागेका हौँ', उनले भने,‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोभिड परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।'
शुक्रबार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पिसिआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोभिड पोजेटिभ देखिएको महतले बताए ।
त्यस्तै, कोभिड महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४९० जनामा कोभिड पोजेटिभ देखिएकोमा एक हजार ३५२ जना डिस्चार्ज भएका छन् । हाल कोभिड सक्रिय सङ्क्रमित १३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिकोटमा हालसम्म कोभिड सङ्क्रमणले चार जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया