बाँदरको सिकार गर्दा राउटे युवाको मृत्यु
फाइल तस्वीर
सुर्खेत : फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदायका एक युवाको मृत्यु भएको छ । बादँरको सिकार गर्ने क्रममा मंगलबार भीरबाट लडेर १६ वर्षीय टेकराज शाहीको मृत्यु भएको हो ।
सुर्खेतको चिङ्गाड गाउँपालिका–५ स्थित मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका युवा र किशोरहरू मंगलबार बाँदरको सिकार गर्न गएका थिए । सिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर राउटे युवाको मृत्यु भएको राउटेहरुको उत्थानको लागि काम गर्दै आएको संस्था सामाजिक सेवा केन्द्र (सोसेक)ले जनाएको छ ।
संस्थाका अध्यक्ष हिरासिंह थापाले राउटे बस्तीमा परियोजना संञ्चालनको क्रममा राउटे युवाको मृत्यु भएको जनाए । ‘संस्थामार्फत राउटे बस्तीका बालबालिका तथा युवाहरुलाई पढाउने र उनीहरूको स्वास्थ्यको बारेमा बेला बेलामा जाँच गर्ने गरेका छौ’ थापाले भने, ‘यसको लागि संस्थाबाट शिक्षक र स्वास्थ्यको क्षेत्र हेर्नलाई अहेवको व्यवस्था गरेका छौ ।’
दैलेखमा रहेको सोसेकमार्फत सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे युवाको बाँदरको शिकार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए ।
मृतक टेकराज शाहीको पढाइप्रति आकर्षण रहेको खत्रीले बताए । समुदायका अगुवाहरुले पढ्न नदिए पनि अटेर गरेर पढ्न खोज्थे’ जोडी शिक्षक खत्रीले भने ‘ यो समुदायका युवाहरूको पढ्ने र लेख्ने चाहना पूरा गर्न हाम्रो संस्थाले सहयोग गरेको छ ।’ अहिलेसम्म राउटे समुदायमा कसैले पनि औपचारिक शिक्षा लिएका छैनन् । तर, पछिल्लो समय राउटे बस्तीका बालवालिका तथा युवा पुस्ताहरु रूले भने पढाइप्रति रहर गर्न थालेको देखिन्छ ।
राउटे बस्तीका हाल ४४ घरपरिवारमा एक सय ५० जना जनसंख्या रहेका सोसेक दैलेखले जनाएको छ । पछिल्लो समय उनीहरूको जनसंख्या घट्दै गइरहेको छ । उनीहरूको खानपान र बसाइका कारण पनि यस समूदायमा बिस्तारै जनसंख्या घट्दो क्रममा रहेको हो ।
राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र वितरण गरिसकेको छ भने दैलेखको सोसेक संस्थाले उक्त बस्तीका बालवालिका र युवालाई पढाउनुका साथै उनीहरूको स्वास्थ्य जाँच गर्दै आएको छ । फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदाय कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया