कर्णाली

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता

आगामी आवका लागि ३१ अर्ब ४१ करोड बजेट विनियोजन

इकागज |
असार १, २०८१ शनिबार १७:३४ बजे

सुर्खेत- कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।  

कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रहेको छ ।


त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख, चालू आर्थिक बर्षको बचतबाट ५ अर्ब १३ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु ९ अर्ब ३८ करोड र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ३६ करोड रुपैयाँ र सशर्त अनुदानबाट रु ३ अर्ब ७१ लाख परिचालन गरिने उनले बताए ।

बजेटमा पर्यटकीय स्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै खानेपानी सेवा विस्तार र पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि रु १ अर्ब ८ करोड विनियोजन गरिएको छ । 


Author

थप समाचार
x