कर्णाली

न्याय खोज्दै सडकमा

लक्ष्मी भण्डारी |
मंसिर १२, २०७७ शुक्रवार १२:३१ बजे

सुर्खेत : २६ वर्षदेखि श्रीमानको अत्याचारबाट पीडित वीरेन्द्रनगरकी कमला सुनार (परिवर्तित नाम)  न्याय माग्दै सडकमा भौतारिरहेएकी छिन् । दिनहुँको अत्याचारबाट आजित भएपछि उनी सडकमा आउन बाध्य भएकी हुन् । शरीरभरि निलडाम लिएर उनी मानवअधिकारकर्मीहरुसँग सहयोगको अपिल गरिरहेकी छन् ।

श्रीमानको अत्याचार सहन नसकेर कमला सडकमा आएको यो पहिलो पटक भने होइन । यस अघि पटक-पटक संघसंस्था र प्रहरीको रोहबरमा घटना मिलापत्र गरिन्थ्यो । ‘श्रीमानले प्रहरीको अगाडि राम्रो गरेजस्तो नाटक गर्ने, एकछिनमै पुरानै बानी देखाइहाल्ने’ कमलाले भनिन्, ‘अब सुधार होला भनेर वर्षाै सहेर बसे । तर अति भएपछि घर छोडर निस्किएकी हुँ ।’ 


उदयपुरकी कमलाको १४ वर्षकै कलिलो उमेरमा विवाह भयो । काठमाडौं जोरपाटीमा गलैचा बुन्ने कारखानामा काम गर्ने क्रममा उनको एक युवकसँग भेट भयो । त्यो भेट विवाहमा परिणत भयो । विवाह भएको एक वर्षपछि उनी श्रीमानसँग सुर्खेत आइन् ।

विवाह गर्ने बेलामा श्रीमानले भनेजस्तो कुनै पनि कुरा पाइनन् । ‘विवाह भएर आउँदा एलानी जग्गामा सानो छाप्रो घर थियो, जे जस्तो भए पनि मेहनत गरेर खाउँला भनेर चित्त बुझाएँ’ उनले भनिन्, ‘तर, अहिलेसम्म दिनभरि मजदुरी गरेर साँझ बसेर खाना खान पाउँदिन ।’

कमलाले मजदुरी गरेर साँझ बिहानको जोहो गर्छिन् तर, उनका श्रीमान मदिरा सेवन गरेर अनेक आरोप लगाउँछन् । बेहोस हुनेगरी कुटपिट गर्छन् । त्यतिमात्र होइन श्रीमानको कुटाइबाट उनको स्तनको छियाछिया भएको छ भने लामो समयसम्म रगत बग्‍ने समस्या पनि देखिएको छ । ‘महिनावारी भएको दिनमा श्रीमानले योनीमा हात हालेर रगत निकालेपछि म बेहोस भएँ ,त्यही रगत मेरो मुखभरि लगाइदिनुभयो । त्यतिबेला कुटेको पनि थाह पाइनँ’ उनी भन्छिन्, ‘रगतको धारा बगाउँदै न्याय माग्न आएँ मिलापत्र भयो । फेरि उही पीडा दोहोरियो ।’

श्रीमानको पीडाबाट छुट्कारा पाउन दुधे बच्चा लिएर उनी भारतको दिल्ली  हुँदै साउदी पनि पुगिन् । त्यहाँ डेढ वर्षजति बसेर नेपाल फर्किन् । ‘साउदीबाट लिएको पैसा नसकिँदासम्म श्रीमानले राम्रो व्यवहार गरे पनि पैसा सकिने बित्तिकै कुट्न सुरु भयो’ उनी भन्छिन्, ‘फेरि शरिरभरि निलडाम बस्‍न थाल्यो ।’

कमलाका दुई छोरा छन् । ठूलो छोरा कमाउन भारत गएका छन् भने कान्छा छोरा बजारको पसलमा काम गर्छन् । ‘घरमा श्रीमानको व्यवहारले छोराहरूले पनि पढ्न पाएनन्,’ उनी भन्छिन्, ‘त्यसैले उनीहरू काममा लागेका छन् ।’

अब उनको श्रीमानबाट अलग बस्ने चाहाना छ । ‘यस्तो पीडा बोकेर कति दिन बस्नु ?’ कमला भन्छिन्, ‘बरु आफै मजदुरी गरेर जति कमाउँछु सुखले दुई छाक खान पाउला ।’

इन्सेकको सहयोग
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक र गिताञ्जली ल फर्म सुर्खेतले संयुक्त रुपमा हिंसापीडित महिलालाई सहयोग गरेका छन् । लैगिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन उनीहरूले  न्याय खोज्दै भौतारिएकी हिंसा पीडित कमलालाई सहयोग गरेका हुन् ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पीडित कमलालाई १५ हजारको चेक  हस्तान्त्रण गरेका हुन् । गिताञ्जली ल फर्मका गीता कोइरालाको पहलमा चेक सँगै मानवअधिकारकर्मी लक्ष्मी शर्मा र खगिसरा वलीले कपडा र भाँडा उपलब्ध गराएका थिए ।

अधिवक्ता गिता कोइरालाले पीडित कमलाको न्यायको लागि प्रक्रिया अघि बढाउने बताइन् । ‘ विभिन्न दिवसहरू तामझामका साथ मनाउनुभन्दा भन्दा पीडितको घाउमा मलम लगाउन सके प्रभावकारी हुन्छ,’ उनी भन्छिन्, ‘अबदेखि दिवसहरू मनाउने तरिका परिवर्तन गर्न आवश्यक छ ।’


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x