कर्णाली

कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

इकागज |
साउन ८, २०८१ मंगलबार १९:१८ बजे

फाइल तस्बिर

काँक्रेविहार (सुर्खेत)- कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ । 

भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् । त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुम पश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


 भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै बाँफिकोट गाउँपालिका–तीन/चार को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ । 

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना–८ लाभामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।


Author

थप समाचार
x