कर्णाली

आज कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

इकागज |
साउन २१, २०८१ सोमबार १०:५ बजे

फाइल तस्बिर

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए ।


उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिए ।

यही साउन ७ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उनको नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य  छन् ।


Author

थप समाचार
x