कर्णाली

यस्तो छ कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना

लक्ष्मी भण्डारी |
कात्तिक १, २०७७ शनिबार १०:४ बजे

सुर्खेतः हिन्दुहरूको महान पर्व दशैं र तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन हजार बढी प्रहरी परिचालन गर्ने भएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो । 

चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, झैझगडा, जुवातासलगायतका गतिविधि नियन्त्रणका लागि प्रदेश भर तीन हजार सात सय ९८ जना प्रहरीलाई खटाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले मुगु, कालिकोट, दैलेख र रुकुमश्‍चिममा प्रहरीको टोली पठाइसकिएको र बाँकी रहेको जिल्लाहरूमा प्रहरी पठाउने तयारीमा रहेको जनाए । ‘कर्णालीमा जनसंख्या कम भएपनि आपराधिक घटनाको साथै दुर्घटनाहरू धेरै हुने गर्दछ’ बास्तोलाले भने, ‘चाडपर्वको बेलामा त अझै सजग रहनुपर्ने भएकाले विशेष रुपमा प्रहरी परिचालन गर्न लागेका छौ ।’


प्रहरीका अनुसार एक सय ९० स्थानमा राजमार्ग सुरक्षा तथा ग्रामिण गस्ती (मोबाइल गस्ती) का लागि प्रहरी खटाइएको छ । २८ स्थानमा नियमित चेक प्वइन्ट, ट्राफिक प्रहरीसहित आकस्मिक चेक प्वाइन्ट ३९ स्थानमा, यात्रु सहायता कक्ष २४ स्थानमा, पिकेट ७४ स्थानमा, झैझगडा, चोरी, लुटपाट, जुवातास, माद्यक पदार्थ सेवन नियन्त्रणका लागि ६७ स्थानमा प्रहरीको टोली खटाइएको छ ।

अपराधिक गतिविधि हुनसक्ने जोखिम क्षेत्र मुल्यांकन गर्दै प्रदेशभर हरेक जिल्लामा कमाण्ड सेन्टरको समेत स्थापना गरिएको छ । ती कमाण्ड सेन्टर अन्तर्गत ११ वटा विषयमा फरक-फरक कार्यविभाजन गरी चार सय ९० वटा प्रहरीको फरक-फरक टोली परिचालित हुनेछन् ।

यसैगरी २० वटा स्थानमा धार्मिक तथा पर्यटकीय स्थल सुरक्षाका प्रहरी टोली खटाइएको छ भने १७ स्थानमा बजार अनुगम टोली, बैंक तथा बित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थानमा प्रहरीको टोली खटाइएको छ ।

त्यसैगरी आवश्यकता अनुसार राजमार्ग स्कटिङ, र क्‍वारेन्टाइन तथा आइसोलेसन सुरक्षा ड्युटीको व्यवस्था समेत मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै प्रहरीले यसपटक सडकमा हुनसक्ने दुर्घटना तथा जोखिम नियन्त्रणका लागि ‘राडार गन’को समेत प्रयोग गरिने जनाएको छ । प्रहरीले सडक सुशासन र सार्वजनिक यातायात साधनहरूको सहज आवागमन तथा दुर्घटना न्युनिकरणका लागि उच्चतम प्रविधिको राडार गनको प्रयोग गर्ने भएको हो ।

यसका साथै खाद्यान्‍न लगायत अत्यावश्यक वस्तुहरूको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्थालगायतमा प्रहरीको चाडपर्व सुरक्षा लक्षित कार्ययोजनाहरू रहेका छन् ।

चाडपर्वको अवसरमा हुन सक्ने चोरी तस्करी तथा लागु औषधको ओसारपसार नियन्त्रण, जुवातास, डाइस (लङगुर गुर्जा), कौडा खेल्ने जस्ता प्रवृत्ति नियन्त्रण, पटका लगायतका अन्य बिष्फोटक प्रदार्थहरूको आयात र प्रयोगलाई नियन्त्रण, तिहारको समयमा हुन सक्ने झैझगडा लगायतका विषयमा प्रहरी विषेश रुपमा परिचालित हुनेछ ।
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x