कर्णाली

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

इकागज |
कात्तिक ८, २०८१ बिहीबार ६:४४ बजे

जुम्ला- जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

यस्तै चालु आवको असोज मसान्तसम्म एक हजार आठ सयभन्दा बढीले नागरिकता लिइसकेको उनले बताए । कम्युटर अपरेटर पुलामीले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक हजार आठ सय ६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।” यस्तै यस अवधिमा तीन सय ३१ जनाले राहदानी र एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा दुई सय २५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए । 

राहदानी बनाउनेको सङ्ख्या बढ्दो    
जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल तीन हजार सात सय ५६ जनाले राहदानी लिएका छन् ।

राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताए ।

प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै छ सय ३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये एक सय ५७ महिला र चार सय ७५ पुरूष छन् । आव २०८०/८१ मा सात सय ८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये एक सय ४२ जना महिला र छ सय ४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस


Author

थप समाचार
x