कर्णाली

खार्पुनाथमा औषधि अभाव

इकागज |
पुस २६, २०८१ शुक्रबार ७:१० बजे

सिमकोट (हुम्ला)- हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् । 

गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् । 
   
गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । गाउँपालिकाले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गर्दा औषधि अभाव भएको हो । 
   
दशैँअघि पनि औषधि अभाव हुँदा रु पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो । दशैँमा खरिद गरेको पनि सकिएर पुन: औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए । गाउँपालिकामा सबै औषधिको अभाव नभए पनि केही औषधिको अभाव भएको गाउँपालिका संयोजक शाहीले बताए । 
  
यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताए । तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिँने औषधि र उपकरण खरिदका लागि टेण्डर आह्वान भएर स्वीकृत भएको सकेको बताउनुभयो । गाउँपालिकामा एक हप्ता माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाँडो पुर्याउन ताकेता लगाउने अधिकृत शाहीले बताए । 


यतिबेला गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन् । गाउँमा रहेका स्वास्थ्यचौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ । स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका स्थानीय दलसुर परियारले गुनासो पोखे । 

केही दिनअघि बिरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पेगाउँमा रहेका स्वास्थ्यमा यतिबेला बिरामी नै आउन छोडेको बताइएको छ । खार्पुनाथको वडा नम्बर १ को पिउस आधारभूत स्वास्थ्य एकाइ, आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधिको अभाव भएको हो । 


Author

थप समाचार
x