कर्णाली

रानीखेत रोगबाट मरे ४ हजार चल्ला/कुखुरा

इकागज |
असार २४, २०७८ बिहीबार २०:३४ बजे

दैलेख : नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको र अरु पनि मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो ।

स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि नौमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत शाखा प्रमख खगेन्द्र न्याउपानेले बताए । उनले ज्वाला भेरी कर्णाली पञ्चकोशी एग्रोफरेस्टी प्रालि लिमिटेडले स्थानीयवासीलाई झुक्काएर गाउँपालिकासँग सम्र्पकै नगरी अवैधानिक ढङ्गले रोगी कुखुरा बेचिएकाले समस्या आएको बताए । अहिले स्थानीय कुखुरालगायत अन्य पशुपक्षी मरेका छन् ।    


पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमिक्त कार्यालय प्रमुख भीमबहादुर विष्टले रानीखेत विषाणु रोग भएकाले बाहिरबाट रोग लागेका कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको बताए । उनले अब परीक्षणमा ढिलाई गर्नुहुँदैन, रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपक्षी अन्यत्र ओसारपसार नगर्ने र बिरामी नभएका कुखुरालाई रोकथामको लागी खोप लगाएपछि मात्र रानीखेत नियन्त्रणमा आउने बताए । नौमुले गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानविन गरी कारवाही गरिने बताए ।


Author

थप समाचार
x