संक्रमण बढेपछि हुम्लाका विद्यालय फेरि बन्द
फाइल फोटो
हुम्ला - केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको जिल्लाको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए । त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उनले बताए ।
गाउँगाउँमा कोभिड १९ सङ्क्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा विद्यालयमा सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
चंखेलीमा गत असार २९, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय पुनः बन्द हुने भएका हुन् ।
विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट सङ्क्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको र डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया