पर्यटकीय सम्भावना र भैरवी पञ्चकोशी तीर्थस्थल
दैलेखको भैरवी गाउँपालिकास्थित करिब एकसय मिटर अग्लो झरना तस्बिर: जितेन्द्र थापा/सुर्खेत
सुर्खेत - दैलेखको भैरवी पञ्चकोशी तीर्थस्थलमध्येको एक धार्मिक स्थलसँगै पर्यटकीय स्थल हो । भैरवी गाउँपालिका–४ र चामुण्डा बीन्द्रासैनी नगरपालिकाको बीच सिमानामा भैरवीकै नामबाट भैरवी गाउँपालिकाको नामाकरण गरिएको छ ।
वरिपरि जङ्गलले घेरिएको हरियाली वातावरण । त्यही हरियाली वातावरणको बीच छङछङ गरिरहने भैरवी झरना । आफैँमा सुन्दर हेरिरहुँ लाग्ने त्यही बसिरहुँ लाग्ने ।
पहाडको फेदी गौमुलबाट लडिबुडी गर्दै ओल्लो छाल पल्लो छाल गर्दै फेदीमा झर्छ । त्यही पहाडको फेदी र गौमुलबाट झरेको स्वच्छ, निर्मल पानीको छहराको काखमा एकैछिन् बस्दा पनि स्वर्गमा पुगेजस्तो भान हुन्छ । जति नजिक गयो उतिनै काखमा राख्छ भैरवी झरनाले । काखमा बसेर कहिले नअघाउने झन मन बहकाउने ।
व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन । मन भुलाउँछन् । मनले इच्छाएको हे भैरवी पुर्याइदेऊ भन्दै पुकार्छन् । कैयौँ पकृतिप्रेमी प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । कहिले मेरो मनको पुर्याइदेउ भैरवी भन्दै जान्छन् त कहिले दुई प्रेमी जोडी हे भैरवी हाम्रो सधैँभरि मिलन गराइदेउ भन्दै पुकार्छन् ।
गौमुलबाट भरनाको उद्गमस्थल भएको भैरवी झरना मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तिरक पर्यटन बढेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाबारेमा गाउँपालिका र नगरपालिका तथा वडा कार्यालयले पनि चासो नदिएको स्थानीयको गुनासो छ ।
झरनामा नुहाएपछि मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पुरानो इतिहास बोकेको यो ठाउँमा पूर्णिमा दिनमा धेरै टाढाबाट दर्शनार्थीहरू आउने गर्छन् । यहाँको झनामा नुहाउँदा मनले चाहेको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यहाँको झरनामा नुहाएर मनले सोचे आटेको इच्छा पुरा हुन्छ भन्ने धार्मिक विश्वासले नै पूर्णिमाको दिन टाढा टाढाबाट यहाँ थुप्रै दर्शनार्थीहरू आउने गरेको स्थानीय संचारकर्मी खगेन्द्र रानामगर बताउँछन् । रातिको समयमा झरना खसेको ठाउँमा भगवान राम–सीता र बाघमाथि देवी चढेका दृश्यहरू कुदेको समेत देखिने गरेको सञ्चारकर्मी रानामगर बताउँछन् । 'अरुले यस्ता दृश्य देखिन्छन् भनेर पहिले आफूले विश्वास नगरेको पछि रातिको समयमा आफ्नै आँखाले पत्यक्ष देख्दा विश्वास लाग्यो,' उनले भने ।
झरना माथि एउटा अर्को झरना रहेको छ त्यो झरनालाई बासुधारा भनेर चिनिन्छ । तीनवटा बासु धारा भएको ठाउँबाट पानी नभएर दूध झथ्र्यो त्यही भएर बाँसुधारा नाम रहेको भन्ने किँवदन्ती छ । त्यही झरेको दूधलाई बाहिर लिएर खिर बनाएर खाइसकेपछि दूधको झर्न बन्द भएको स्थानीय ८० वर्षीय मानबहादुर सिजाली मगर बताउँछन् ।
पूर्णिमाका दिनमा बाँके बर्दिया, कैलाली, सुर्खेत लगायतका ठाउँहरूबाट तीर्थालुहरू यहाँ पुग्ने गरेको सिजालीले बताए । टाढा टाढाबाट यहाँको झरनामा आएर नुहापछि आफूले सोचेको कुरा पूरा हुन्छ भन्ने धरैको धार्मिक विश्वास रहेको छ ।
तर यहाँका स्थानीय सरकारले त्यति चासो नदेखाउँदा ओझेलमा पर्दै गएको छ । झरना वरिपरि न कुनै पूर्वाधार नै छ न त बास बस्ने ठाउँ नै छ । टाढा टाढाबाट आएका तीर्थालुहरू पनि राति नजिकैको ओढारमा बास बस्ने गर्छन् । टाढाबाट आउने तीर्थालु र पर्यटकका लागि स्थानीय र प्रदेश सरकारले बस्न प्रतीक्षालय, सडक, झरनासम्म पुग्ने पक्की बाटो बनाउनुपर्ने स्थानीयबासी सिजाली बताउँछन् ।
पञ्कोशी तीर्थस्थलमध्येको एक तीर्थस्थल र पर्यटकीयस्थल भएको र जुन एकसय मिटरभन्दा अग्लो भैरवीको विकासको लागि गाउँपालिकाले (डिपिआर) नै तयार पारिसकेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । उनले भने, ‘भैरवी पुग्न मुख्य सडकबाट चार किलो मिटर रहेको छ त्यहाँभन्दा माथि पैदल मार्ग बनाउने योजना रहेको छ ।’
गाउँपालिकाले दक्षिणमा श्रीस्थान ज्वाला क्षेत्र, बीचैमा भैरवी र उत्तरमा कालिकोट सिमानामा रहेको व्याउलीलाई पालिकाले विषेश पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउने लक्ष्य रहेको अध्यक्षको भनाइ छ । उनका अनुसार, सडक, प्रतीक्षालय, पैदल मार्ग, पार्कजस्ता रहेको भैरवी गाउँपालिकाका इन्जिनिएर हिरासिंह थापाको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया