कर्णाली

महामारीले कर्णालीमा निम्त्याएको शैक्षिक असमानता

इकागज |
मंसिर २६, २०७७ शुक्रबार १२:१० बजे

सुर्खेत : कोभिड–१९ महामारीले कर्णालीमा शैक्षिक असमानता निम्तिएको भन्दै सरोकारवालाहरुले औल्याएका छन् । कोभिड  माहामारीका कारण सञ्चालन गरिएका अनलाइन कक्षामा सबै विद्यार्थीहरूको पहुँच नहुँदा शैक्षिक असमानता बढेको उनीहरूको भनाइ छ ।

मानव अधिकार रक्षक सञ्जालले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र शिक्षा, स्वास्थ्य र खाद्यमा पारेको प्रभावको विषयमा छलफल कार्यक्रमका सहभागी सरोकारवालाहरूले कर्णालीमा शैक्षिक असमानता प्रमुख समस्या रहेको धारणा राखेका छन् । 


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक अर्जुनबहादुर अयडीले कोरोना माहामारीले कर्णालीमा शैक्षिक असमानता निम्तिएको बताए । ‘भौगोलिक विकटता रहेको कर्णालीमा अनलाइन कक्षा सबैको पहुँचमा छैन’ कर्णालीमा कोभिडले पारेको प्रभावको विषयमा कार्यपत्र प्रस्तुत गर्दै अयडीले भने, ‘यसले विद्यार्थीहरूको बीचमा शैक्षिक असमानताको खाडल बढाएको छ ।’

सूचना प्रविधिको पहुँचबाट टाढा रहेको कर्णाली प्रदेशका बालवालिकाहरुमा अहिले ठूलो असमानता देखिएको उनको भनाइ छ । ‘कोहीले अनलाइन कक्षा पढिरहेका छन्, कसैले भर्खर सुरु गर्दैछन् भने केहीले सुरु नै गरेका छैनन्’ उनले भने, ‘यस्तो अवस्थामा यी सबै विद्यार्थीहरूले एकैपटक परीक्षामा सहभागी हुँदा अनलाइन कक्षामा सहभागी नभएका बालवालिकालाई समस्या हुन्छ ।’ यसबाट बालवालिकामा मनोवैज्ञानिक प्रभाव पर्ने उनको भनाइ छ । 

शिक्षासँगै स्वास्थ्य र खाद्यान्नमा पनि कोरोना माहामारीले प्रभाव पारेको अयडीले बताए । खाद्य असुरक्षाको संकट झेलिरहेको कर्णालीमा माहामारीको कारणले थप संकटको सामना गर्नुपरेको उनको भनाइ थियो । 

मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले सबैलाई समान हुने मानवअधिकारमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । रक्षक संजालबाट कर्णालीमा सुशासनको अवस्थालाई बलियो बनाउनुपर्छ भन्ने अभियान सञ्चालन गरेको ढकालको भनाइ छ । 

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मानव अधिकार अधिकृत सोम चौधरीले मानव अधिकार रक्षकहरुलाई पनि विभिन्न समस्या झेल्नुपरेको बताए । कोभिडको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई विभिन्न समस्याहरू झेल्नुपरेको बताए । कोभिडको समयमा शिक्षामा असमानतासँगै हिंसाका घटनमा पनि वृद्धि भएको उनले बताए ।


Author

थप समाचार
x