कर्णाली

सुर्खेत विमानस्थल विस्तार अन्योलमा

इकागज |
भदौ ३१, २०७८ बिहीबार १६:६ बजे

फाइल फोटो

सुर्खेत - सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अझै अन्योलमा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले असहमति जनाएपछि  एक वर्षयता विमानस्थल विस्तारको काम हुन सकेको छैन ।

प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि स्थानीयको असन्तुष्टिका कारण काम बिचमै रोकिएको हो । बाक्लो बस्ती तथा भौतिक संरचना मासेर विमानस्थल विस्तार गर्नुभन्दा अन्यत्रै विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।  


विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाइ विस्तार गर्ने योजना रहेको छ । त्यसका लागि ३० बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने भए पनि जग्गा अधिग्रहणमा समस्या भएपछि स्तरोन्नतिका कामहरू रोकिएका हुन । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा विमानस्थल विस्तार गर्नको लागि कामको सुरुवात गर्न लागिएको थियो ।

एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग बनाउने र रात्रीकालीन उडान भर्ने गरी विस्तार गर्ने भने पनि लामो समयसम्म निर्माणको गति अघि बढ्न सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त योजनाका लागि  विनियोजन गरेको ५० करोड बजेट फ्रिज भएको छ ।

 विमानस्थलको धावनमार्ग साँघुरो भएका कारण ठूला जहाज सञ्चालन हुन सकेका छैनन् । जसका कारण धेरैजसो नागरिकहरु नेपालगंज विमानस्थल हुँदै यात्रा गर्न बाध्य छन् । यही समस्या समाधानका लागि धावनमार्ग विस्तारको प्रक्रिया थालिएको हो । तर, हालसम्म विमानस्थल विस्तारको काम टुंगो लाग्न सकेको छैन । 

नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्तारबारे पछिल्लो पटक आफूलाई कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिएका छन् । लगत संकलन गर्दा स्थगित भएको काम अझै सुरु हुन नसकेको उनको भनाई छ । 

विमानस्थल विस्तारका लागि भन्दै गत वर्ष सरकारले उक्त क्षेत्रको जग्गा रोक्का गरेको  । यता विमानस्थल विस्तारका प्रभावित क्षेत्रका बासिन्दा टिकाराम आचार्यले रोक्का गरेको जग्गा फुकुवा नगर्दा नागरिकहरु समस्यामा रहेका बताए । जिल्ला प्रशासन कार्यालयमा जग्गा रोक्का फुकुवा गरिदिन निवेदन दिए पनि सुनुवाइ नभएको  आचार्यलेले बताए ।


 


Author

थप समाचार
x