कर्णाली

कर्णालीमा अर्गानिक स्याउसँगै खुसी र दुःखी

कृषकको गुनासो- ‘मेहनत अनुरुप मूल्य पाएनौँ’

जितेन्द्र थापा |
असोज ८, २०७८ शुक्रबार १३:४ बजे

सुर्खेत- यतिबेला कर्णालीका किसान एक अर्थमा खुसी छन् त एक अर्थमा निकै दुःखी पनि । कर्णाली आफ्नै घरको आँगनमा लटरम्म स्याउ फल्दा खुसी हुन्छन्, त्यही स्याउले बजार र मूल्य नपाउँदा किसानहरू पिर मान्छन् । 

घर-आँगनमा उत्पादित स्याउ टिप्‍ने सिजन सुरु भएको छ । किसानले हातका नङ्ग्रा खियाएर उत्पादित बजार नपाउँदा गाईबस्तुलाई खुवाउनुपर्ने वा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता टरेको छैन । 


ढुवानीमा कठिनाई, मूल्य नपाएको भन्‍ने गुनासको आजको होइन पुरानै समस्या हो । अर्कातिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारतमा फलेका स्याउ उपभोग गरिरहेका छन् । फितलो सरकारी तयारीले स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी स्याउ खान बाध्य छन् ।

किसानका स्याउ बारीमै कुहिने र गाईबस्तुलाई खुवाउनुपर्ने अवस्थाले किसानहरू मारमा छन् । कर्णालीको स्याउको प्रति केजी एक सय रुपैयाँ र भारत र चीनको स्याउको तीन सय मूल्य छ । तर, पनि भारत र चीनको स्याउलाई उपभोक्ताको रोजाईमा त्यही स्याउ परेको छ ।  

कर्णालीको स्याउ बजारमा पुग्‍न एक त राम्रोसँग सडक पुगेको छैन । सडक पुगेका ठाउँमा पनि असिना पानीले थिचेपछि स्याउको दानामा भएको दागका कारण उपभोक्ताले मन नपराएको सुर्खेतमा स्याउ बेच्दै आएका नेपालगनञ्‍जका व्यापारी सोनु अनसारी बताउँछन् । ‘मण्डीबाट ७५ रुपैयाँ प्रति केजी खरिद गरेर एक सयमा बेच्छु दाग लागेको भनेर लिँदैनन्’, उनले भने, ‘तर, चाइनिज स्याउ २५ सय प्रति पेटी खरिद गरेर प्रति किलो तीनसय रुपैयाँका दरले यही धेरै कट्छ ।’

बाहिर दाग भएपनि कर्णालीको स्याउ आफ्नो प्रदेशको भनेर कसै कसैले खरिद गरेर लिन्छन्, नत्र कसैले लिँदैनन् । यही चाइनिज र भारतीय स्याउ खरिद गर्छन् । सरकारले स्याउसहितका फलफूलजन्य वस्तुको उत्पादन बढाएर बजार व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि एक वर्षमै साढे चार अर्ब रुपैयाँको विदेशी स्याउ आयात भएको छ ।

गुणस्तरीय उत्पादनमा समस्या
समयमा पानी नपरेका कारण कुपोषणका कारण गुणस्तरीय उत्पादन नभएको कालिकोटको रासकोट नगरपालिकाका किसान कलबहादुर रोकाया बताउँछन् । उनका अनुसार, स्याउ जोनले ५० प्रतिशत अनुदानका विरुवा र सिँचाइ नहुने ठाउँमा सिँचाई बगैचा सुधारका लागि बजेट पनि १६ प्रतिशत कटाएर रास्कोट नगरपालिकामा ८५ लाखमा डेढ लाख बजेटमा त्यही पनि घटाएर १ लाख १० हजार पाए ।

‘बाटो छैन स्याउलाई कसरी बाहिर पुगाउने, स्टोर नभएकाले भित्र राख्छु,’ उनले भने, ‘एक दुइ महिनाभित्र बिक्री गरे मात्र नत्र सडेर जान्छन् । गाइभैँसीले खान्छन् । आफ्नो १० टन क्षमताको स्टोर भएकाले त्यति कुहिन पाउँदैन । तर अरु किसान दाजुभाइको त कुहिएर जान्छ ।’

उनका अनुसार, स्याउ टिप्‍ने बित्तिकै लैजानलाई बजार छैन, टिप्यो घरमा राख्यो कुहिने काम हुन्छ । दुःख मेहनत गरेअनुसारको मूल्य नपाउँदा किसान निरास छन् । सरकारले ढुवानीका लागि बाटो बनाइदिए स्याउ निर्यातमा सहज हुने थियो ।

कर्णाली प्रदेशका जिल्लामा स्याउ लटरम्म फलेका छन् । छिमेकी देश भारत चाइनाबाट आएको स्याउ तीन सय रुपैयाँ पर्छ । तर, कर्णालीको स्याउ प्रति किलो ९० देखि एकसय रुपैयाँ भन्दा पनि उपभोक्ता नाक खुम्च्याउँछन् । बारीमा फलेका सेताम्मे र राताम्मे स्याउ कहाँ लगेर बेच्‍ने भने चिन्ता कृषकमा छ । तर प्रदेशको विकास स्याउबाटै हुन सक्ने सम्भावना हुँदा पनि प्रदेश सरकारले चासो नदिएको स्थानीय स्याउ किसानको गुनासो छ ।

मुगुमा स्याउमा असिना-पानी 
मुगुमा असिना पानीले गर्दा यो वर्ष स्याउ उत्पादनमा कमी आएको छ । स्याउ उत्पादनको भण्डारका रुपमा परिचित मुगुको ताल्चा क्षेत्रमा लगाइएका कृषकका स्याउ असिना पानीले गर्दा उत्पादनमा कमी आउँदा किसानहरू मारमा परेका छन् ।  

छायाँनाथ रारा नगरपालिका-५ ताल्चामा रहेको २ दर्जन कृषकहरूले लगाएका स्याउ असिना पानीले गर्दा उत्पादनमा कमी आएको स्थानीय किसानको दुखेसो छ । हरेक वर्ष स्वाउ उत्पादनबाट घर खर्च बालबच्चा पढाई-लेखाइ जिविकाको निर्वाह गर्दै आएका थियौँ । यो वर्ष असिनाले गर्दा उत्पादन घट्यो । अब कसरी गुजारा चलाउने एक किसानले भने ।

यो वर्ष चैत-बैशाख महिनामा स्याउ फूल फुल्‍ने समयमा असिना-पानीले फूल झार्दा र वर्षात्‌को लगातार झरीले स्याउ उत्पादनमा कमी आएको छ । उत्पादन भएका फलहरू साना, काला, स्वाद नभएको हुँदा स्याउका दाना भएको हुँदा यो वर्ष स्याउबाट घाटा भएको कृषकहरूको गुनासो छ ।

आफूसँग १ सय ५० भन्दा बढी स्याउका फल लाग्‍ने बिरुवामा चैत-बैशाखमा फूल फुल्ने समयमा असिना पानीले असर पारेको थियो भने वर्षात्‌को समयमा आकासे पानीले थप समस्या पार्दा ताल्चा क्षेत्रमा लगायतका सबै कृषकका स्याउमा असर परेको छ ।

यो वर्ष स्याउ बगैँचामा स्याउका पूरै बोटा खाली छन् केही फल दिएका बिरुवामा पनि निकै साना दाना लागेको छन् । गत वर्ष भन्दा यो वर्ष स्याउबाट निकै घाटा भएको स्थानीय किसान मणिचन्द्र भाम बताउँछन् । ‘साना दानालाई भुजा बताएर स्याउका सुकुटी बनाउर्ने गरेका छौँ,’ उनले भने, ‘असिना पानीबाट बचेका स्याउ स्वादिलो हुँदैन ।

त्यस्तै, अर्का स्याउ कृषक पृथ्वीबहादुर बुढाको पनि उस्तै समस्या छ असिना पानीले छिच्‍नसम्म थिचेर बचेको स्याउको पनि लगानी अनुसारको मूल्य नपाएको गुनासो छ । सरकारले स्याउ कृषक तथा व्यापारीको समस्यामा चासो नराख्दा बिचौलिया मोटाउने गरेको उनको भनाई छ । बुढाले भने, ‘स्थानीय वा प्रदेश सरकारले शीत भण्डारको व्यवस्था नगरेसम्म किसानले यो समस्या बेहोरीराख्नुपर्छ ।’

विकास कार्यालय जुम्लाका अनुसार, दश दिनअघिको रिपोर्ट अनुसार १ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको कृषि कार्यालयले बताएको छ । कृषि कार्यालय जुम्लाका कृषि अधिकृत श्याम देवकोटाका अनुसार, पहिलेका वर्षहरू भन्दा यो वर्ष स्याउ उत्पादन घटेको छ ।

कर्णालीका स्याउ उत्पादन हुने जुम्ला, मुगु, डोल्पा, कालिकोटलगायतका कर्णालीका अन्य जिल्लामा गत आर्थिक वर्ष भन्दा यो वर्ष स्याउ उत्पादनमा कमी आएको त्यहाँका कृषि कार्यालयले जानकारी दिएका छन् । कर्णालीमा उत्पादन हुने अर्गानिक स्याउ निर्यात भन्दा भारत र चाइनाका स्याउ कर्णालीकै बजारमा छ्याप्छयाप्ती भेटिन्छ । कर्णालीको स्याउ प्रति केजी एकसय रुपैयाँ र चाइनाको प्रति केजी तीन सय रुपैयाँ हुँदा पनि चाइनाको स्याउ धेरै मात्रामा आयात हुने गरेको छ । कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा एक हजार पाँचसय ३५ क्‍वीन्‍टल आयात भएको छ । 

त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा चाइनादेखि १८ हजार नौसय २५ क्‍वीन्‍टल स्याउ सुर्खेतमा आयात भएको छ । कर्णालीका अन्य जिल्ला जुम्लादेखि १२ हजार एकसय १५ क्‍वीन्‍टल, कालिकोट दुई हजार ३४ क्‍वीन्‍टल, मुगु एक हजार पाँचसय १५ क्‍वीन्‍टल, भारतदेखि एकहजार २५ क्‍वीन्‍टल मात्र सुर्खेतमा आयात भएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतले दिएको तथ्यांक अनुसार कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा कर्णालीको स्याउ भन्दा चाइनाको स्याउ धेरै मात्रमा खपत भएको छ । प्रति केजी तीन सयका दरले बिक्री हुने चाइनाको १८ हजार नौसय २५ क्‍वीन्‍टल सुर्खेतमा आयात भएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतका व्यवस्थापक केसर रास्कोटीले बताए । 

उनका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा जुम्ला, कालिकोट, मुगु, चाइना, भारतदेखि १३ हजार दुई सय ५१ क्‍वीन्‍टल स्याउ कर्णालीको राजधानी सुर्खेतमा आयात भएको छ । त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतदेखि ३५ हजार छ सय २२ क्‍वीन्‍टल र ०७८/०७९ मा १३ हजार दुई सय ५१ क्‍वीन्‍टल स्याउ सुर्खेत बाहिर निर्यात भएको कृषि बजार व्यवस्थापन समिति सुर्खेतले दिएको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेशमा चुनौती मात्र होइन सम्भावना पनि उत्तिकै छ । कर्णाली विकासका थुप्रै आधारहरू छन् । यहाँ भएका विभिन्‍न आधारहरूलाई मात्र पच्छ्याएर अघि बढ्ने हो भने कर्णालीको विकासले काँचुली फेर्न कसैले रोक्न सक्दैन । तर त्यसको लागि कर्णाली सरकार स्थानीय सरकारले त्यो विकासे काँचुलीको लागि कम्मर कसेर अगाडि बढ्न सक्नुपर्छ । यहाँका उत्पादन नेपालभरका बजारसम्म पुर्‍याउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ ।


Author

थप समाचार
x