कर्णाली

सल्यानबाहेक नौ जिल्लामा सञ्‍चालन

कर्णालीका सुपथ मूल्‍य पसल: छैन जुम्ली सिमी र मार्सी  चामल

इकागज |
असोज १०, २०७८ आइतबार १३:० बजे

सुर्खेत – दसैँ-तिहार लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्‍चालन गरेको छ । चाडपर्वको बेलामा उपभोक्तालाई खाद्य वस्तुको मूल्यमा राहत दिने उद्देश्यले सुपथ पसल सन्‍चालन गरिएका हुन् । कर्णालीका सल्यानबाहेक नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्‍चालनमा आएका छन् । हरेक वर्ष चाडबाडको बेला सरकारी सुपथ मूल्यका पसल सञ्‍चालन गरिँदै आएको छ ।

कार्यालयका अनुसार यो वर्ष चामल र दाल मात्र बिक्री–वितरण गरिएको छ । सुपथ मूल्‍य पसलमा यस वर्ष कर्णालीमा उत्पादन भएको सिमी राखिएको छैन । कार्यालयका अनुसार थोरै परिणाममा आएको उक्त सिमी सकिएकोले बिक्रीमा राखिएको छैन । त्यसैगरी कर्णालीको जुम्ला जिल्लामा उत्पादन हुने मार्सी चामल पनि राखिएको छैन । मार्सी चामलको लागि यो आर्थिक वर्षमा दुई सय क्विन्टल खरिद गर्न  टेण्डर आह्वान गरे पनि कसैको ठेक्का नपरेपछि टेण्डर नै रद्ध भएको कार्यालयका लेखा सहायक विनोद पौडेलले जानकारी दिए । मार्सी चामल भण्डारणमा समेत समस्याका कारण पर्याप्त मात्रामा चामल उपलब्ध  हुन नसकेको पौडेलले जानकारी दिए ।


कम्पनीका प्रादेशिक कार्यालयका लेखा सहायक पौडेलले सुपथ मूल्‍य पसलको बिक्री केन्द्रहरूमा चामल र दालमा उपभोक्तालाई प्रति केजी पाँच रुपैयाँ छुट दिइएको बताए । उक्त बिक्री केन्द्रबाट एक जना उपभोक्ताले एक क्वीन्टलसम्म चामल खरिद गर्न पाउने  व्यवस्था छ । सुपथ मूल्य पसलमा यस वर्ष चामसँगै मास, मसुरोको दाल राखिएको छ ।

दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारल गएको बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । 

गत वर्ष सहुलियत मूल्‍य पसलबाट दुई हजार नौ सयले सेवा लिएको कार्यलयको तथ्यांक रहेको छ । कार्यालयले कोभिड–१९ लाई लक्षित गरेर अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवस्था गरेको  छ । 


Author

थप समाचार
x