अधिवक्ताको सहारा असहायहरूलाई
सुर्खेत : असार दोस्रो साता । ६ महिनाकी छोरी बोकेर वीरेन्द्रनगरस्थित घण्टाघर छेउकै सडकमा भेटिइन् २२ वर्षीया रिता पौडेल । ६ महिने छोरीले औला चुसरिहेकी थिइन् । सायद उनले भेटभरी आमाको दुध खान पाएकी थिइनन् । दुब्लो र कमजोर शरीर भएकी रिता(आमा) कापिरहेकी थिइन् । विजोग अवस्थामा भेटिएकी रितालाई अधिवक्ता गीता कोराइरालाले आफ्नो कार्यालयमा लगेर राखिन् । बच्चा र आमालाई खाजा खुवाइन् ।
खाजा खाएपछि खुलिन रिता, अनि सुनाउन थालिन् आफ्ना पीडा । सानैमा आमाको माया नपाएकी रिताले अन्तरजातीय विवाह गरेपछि यातना बढी पाइन् । परिवारका सदस्यले नै यातना दिए । ‘श्रीमानले मात्रै होइन सासु–ससुराले समेत कुटे,’ ‘एक वर्ष त मेरो आँखा ओभानो भएन,’ उनले पीडा सुनाइन् । परिवारका सदस्यले चरम यातना दिएर घरबाट निकालेपछि उनी काखे छोरी च्यापरेर निस्किइन् । हिंसामा परेपछि एक महिनाअघि रिता घर छाडेर हिडेकी रहिछिन् ।
रिता र बच्चाको व्यवस्थापन गरेपछि मात्रै उनले कानुनी प्रक्रियाअघि बढाइन् । जाहेरी लेखेबापत पैसा लिइनन्, बरु कपडा र खानाको व्यवस्था गरिदिइन् । चिनजानकासँग रितालाई सहयोग गर्नसमेत अपिल गरिन् । अहिले रितालाई एक स्थानीय संस्थामा रोजगारीको व्यवस्था गरिएको छ । अहिले रिताको जीवन फेरिएको छ । भन्छिन्, ‘मेरा लागि त ‘गीता म्याम’ भगवान नै हो ।’
गत वर्ष चैत अन्तिम साता वीरेन्द्रनगर–४ की एक ३५ वर्षीया सुत्केरी महिलालाई घरबाट निकालियो । सुत्केरी अवस्थामा पेटभरी पनि खान पाइनन् । छोरी जन्माएको निहुँमा उनका श्रीमानले घरबाट निकालेपछि उनी सडकमा आइन् ।
अधिवक्ता गीताले सहयोग गर्छिन् भन्ने सुनेर ठेगाना खोज्दै उनी आइपुगिन् । गीताले आमा र बच्चालाई केही दिन घरमै राखेर हेरचाह गरिन् । निःशुल्क जाहेरी लेखेर कानुनी प्रक्रिया अगाडि बढाइन् । स्थानीयको सहयोगमा उनलाई प्रहरीमा पु-याइयो ।
एक महिनाअघि श्रीमानको कुटाइबाट रगताम्मे भएर वीरेन्द्रनगरकी कमला सुनार न्याय खोज्दै घर छोडेर निस्किन् । न्याय माग्न कहाँ जाने अन्योलमा थिइन् । पाठेघर पीडित ती महिला एक वर्षदेखि आफन्तकहाँ लुक्दै बसेकी रहिछिन् । उनका छिमेकीले गीताकहाँ ल्याएपछि उनले निःशुल्क कानुनी उपचारको बाटो भेटिन् । उनको श्रीमानबाट अलग भएर बस्ने चाहना छ । भन्छिन् ‘मैले भगवान भेटेँ ।’
यी त प्रतिनिधि महिला हुन् जो न्याय खोज्दै गीता कहाँ आउँछन् र आँशु पुछ्ने साहारा पाउँछन् । सुर्खेतको वीरेन्द्रनगरमा जन्मेकी अधिवक्ता कोइरालाको सानैदेखि फरक स्वाभावको थियो । बालापनदेखि नै उनकोे मानव सेवा गर्ने चाहना थियो । सानैदेखि दुःखीको सहयोग गर्दै आएकी उनले मानव सेवा गर्ने अठोट बोकिन् ।
न्याय सेवातिर उनको बढी रुचि थियो । बुवाको पनि छोरीलाई न्यायतिर लैजाने सोच थियो । त्यसमाथि उनले कानुनी अनविज्ञताका कारण पीडितहरूले न्याय नपाएको देख्थिन् र उनलाई पीडा हुन्थ्यो । त्यसपछि कानुन पढ्नैपर्छ भन्ने लाग्योे । उनले कानुन विषय रोजिन् ।
कानुनमा स्नात्तकोत्तर गरेपछि २०५५ सालयता उनी न्यायको निम्ति काम गर्दै आएकी छिन् । केही समय विभिन्न मानवअधिकारवादी संघसंस्थामा संलग्न रहेकी गीता चार वर्षयता गीताञ्जली ल फर्म सञ्चालन गर्दै आएकी छन् ।
उनी दुःखी र हिंसापीडित महिलाहरूको लागि भगवान नै बनेकी छिन् । जब उनी पीडितसँग बसेर छलफल गर्छिन्, पीडा सुनेपछि उनको मन परिवर्तन हुन्छ र जाहेरी निःशुल्क लेख्छिन् । त्यतिमात्र होइन कतिपय महिलालाई घरमै बसालेर कयौ दिनसम्म खाना खुवाएर पठाउँछिन् । उनीहरूलाई कपडा दिएर पठाउँछिन्, कतिपयलाई औषधिसमेत गरेको उनी सुनाउँछिन् ।
‘न्यायको लागि आउने महिलाहरूको अवस्थामा देखेपछि जाहेरी लेखिदिएबापत शुल्क लिनै मन लाग्दैन’ उनी भन्छिन्, ‘सुत्केरी महिला बच्चा बोकेर जाहेरी लेखाउन आउँछन्, उनीहरूका बच्चाले दुध पनि खान पाएका हुँदैनन् । उनीहरूको समस्या देख्दा आफ्नै मन रुन्छ र सहयोग गर्न मन लाग्छ ।’ उनी भन्छिन् ।
धेरैजसो आफूकहाँ महिला हिंसा, बलात्कारका घटनाहरू आउने गरेको गीताले बताइन् । कतिपय आफ्नै नातेदारबाट बलात्कार भएका घटना आउँछन् भने कतिपय अवस्थामा विवाह गर्ने सर्तमा बलात्कार भएपछि उनीहरूबाट जन्मिएका बच्चालाई स्वीकार नगरेको अवस्था हुन्छ । एकातिर कुमारी आमाको दर्दनाक अवस्था भने अर्काेतिर उनीहरूबाट जन्मिएको बच्चाको बिचल्ली ।
यस्ताे बिजोग अवस्थाका किशोरी आमा र बच्चाको सहयोग जुटाउने मात्र होइन आफैले पालनपोषण गरेर धेरैको उद्धारसमेत गरेकी छन् । कतिपय यस्ता किशोरीहरू आत्महत्या गर्नबाट समेत जोगाएर पुर्नजीवन दिएकी छन् ।
आफुसँग भएसम्म सहयोग गर्छिन् र नभएर कुनै संघसंस्थामा पठाउने तथा सहयोगी निकाय खोजेर भए पनि पीडितलाई व्यवस्थापन गर्दै आएकी छन् । ‘मानव सेवा भन्दा ठूलो धर्म केही छैन’ उनी भन्छिन् ‘वकिल होइन सामाजिक वकिल बनेर सेवा गर्ने रहर छ ।’
कतिपय पीडितहरू पीडामुक्त भएपछि उनलाई भेट्न आउँछन् र भन्छन् ‘ हाम्राे लागि तपाईँँ(गीता) भगवान हुनुहुन्छ’ त्यो सुन्दा उनलाई आनन्द आउँछ । भन्छिन् ‘संसारमा यो भन्दा ठूलो खुसी कहाँ हुन्छ?’
dipak.bk146