कर्णाली

'हाई मास लाइट'ले सुर्खेत झलमल्ल

लक्ष्मी भण्डारी |
कात्तिक ४, २०७८ बिहीबार १२:५१ बजे

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा बढी उज्यालो शक्ति भएका ‘हाई–मास’ बत्ती जडान गरिएको छ । बजारका १२ ठाउँमा हाई–मास लाइट जडान गरी सञ्चालनमा आइसकेका छन् । वीरेन्द्रनगर बजार क्षेत्रका मंगलगढी चोक, वीरेन्द्र चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, बसपार्क, ट्याम्पुपार्कलगायतका ठाउँहरूमा हाई–मास लाइट जडान गरिएको हो ।

एक करोड २० लाख रुपैयाँ लागतमा वीरेन्द्रनगर नगरपालिकाले विभिन्न ठाउँमा १२ वटा यस्ता बत्ती जडान गरेको छ । बिजुलीबाट चल्ने यो बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा वीरेन्द्रनगर नगरपालिकाले नै व्यहोर्ने नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर चोकहरूमा लाइट जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । उनकाअनुसार विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।


१२ वटा स्थानमा जडान गरिएको लाइटको शुल्क मात्र मासिक एक लाख २० हजार रुपैयाँ हुनेछ । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगर उज्यालो कार्यक्रममार्फत जडान गरिएको हाई–मास लाइटहरू उज्यालो र सुरक्षा दुबैलाई मध्यनजर गरी स्थान छनोट गरिएको बताए । 

 उज्यालो र सुरक्षाको हिसाबले उपयुक्त हुने गरी स्थानीय र प्रशासनको सल्लाहमा स्थान छनोट गरिएको उनले बताए । बढी मानिसको आवतजावत वा भिडभाड हुने ठाउँ, बजारका ठूला चोकहरूलाई केन्द्रित गरेर बत्ति जडान गरिएको छ ।  बजारमा राखिएका सिसी क्यामराहरूमा भिडियो कैद गर्नका लागि पनि हाई–मास लाइट उपयुक्त भएकाले सुरक्षालाई मध्यनजरगरी विशेष स्थान छनोट गरिएको नगरप्रमुख सुवेदीको भनाइ छ ।


Author

थप समाचार
x