कर्णाली

कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

इकागज |
पुस ५, २०७७ आइतबार ६:४७ बजे

कर्णाली : कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये  ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् ।  अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।


'पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन/तीन र रुकुमपश्चिमका एक जना छन्', प्रमुख कँडेलले भने, 'पछिल्लो २४ घण्टामा नौ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।' योसँगै यस प्रदेशमा उपचारपछि निको हुनेको सङ्ख्या छ हजार ७३४ पुगेको शाखा प्रमुख कँडेलले बताए ।

उनका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कर्णालीमा २२ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस


Author

थप समाचार
x