कर्णाली

कर्णाली सांसदका गाडी मर्मतमा साढे ३८ लाख खर्च

लक्ष्मी भण्डारी |
पुस १७, २०७७ शुक्रबार १४:४९ बजे

सुर्खेत : कर्णालीका सांसदका गाडी मर्मतमा झण्डै साढे ३८ लाख खर्च भएको छ । गाडी मर्मतमा आर्थिक वर्ष २०७६/०७७ मा मात्र ३८ लाख ४८ हजार दुई सय रुपैयाँ खर्च भएको हो । कर्णाली प्रदेश सभा सचिवालय अन्र्तगतका चार पांग्रे गाडीको मर्मतमा मात्र सो रकम खर्च भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

गाडी खरिद गरेको एक वर्षमै यति धेरै रकम मर्मतको लागि खर्च भएको देखिएको छ । कर्णाली प्रदेशसभाका १४ वटा गाडी छन् । जसमध्ये १० वटा नयाँ खरिद गरिएको थियो भने बाँकी चार वटा गाडी विभिन्न विभागहरूबाट हस्तान्त्रण भई आएका छन् । 


सचिवालयले खरिद गरेकामध्ये सात वटा गाडी ४५ लाख सम्मका छन् ।  प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही र सांसद यामलाल कँडेलले प्रयोग गर्ने गाडी ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । सांसद कँडेलले प्रयोग गर्दै आएको सुविधाको विषयमा महालेखा परिक्षकको कार्यालयले बेरुजु निकालेपछि उक्त सुविधा प्रयोग गर्न छाडेका छन् । 

त्यसैगरी सभामुखको लागि गत वर्ष झण्डै पौने दुई करोडमा खरिद गरिएको गाडी विवादपछि प्रयोग गरेका छैनन् । एक करोड ७२ लाखमा  खरिद गरिएको सो गाडी महँगो गाडी खरिद गरिएको भनेर विरोध भएपछि सभामुखले प्रयोग गरेका छैनन् । यस वर्ष कोरोनाको कारण बजेट घटेर आएकाले पनि अब मर्मत खर्चको लागि बजेट छुट्याउन समस्या हुने सचिवालयका सचिव बुढाथोकीले बताए ।

कर्णाली प्रदेशका १० वटै जिल्लाहरू भौगोलिक हिसाबले विकट र बाटो बिग्रिएको कारणले मर्मत खर्च बढ्ने प्रदेशसभा सचिवालयका सचिव बुढाथोकीको भनाइ छ । ‘सुगम भनेको सुर्खेत हो र पनि यहाँका उपत्यका बाहेकका सडकहरुको अवस्था उस्तै छ । अन्य जिल्लाहरू त धेरै विकट छन्’ उनले भने, ‘एकपटक जिल्लामा पुगेर आएका गाडी फेर्नुपर्ने अवस्थाका हुन्छन् ।’ 

कर्णाली प्रदेश भौगोलिक हिसाबले विकट भएका कारण गाडीहरू छिटो बिग्रिने र मर्मत गरिरहनु परेको प्रदेशसभा सचिवालय जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले बताए । ‘प्रदेशका १० वटै जिल्लाहरू विकट छन् । सांसदहरू त्यहाँ पुग्नुपर्ने हुन्छ तर, विकटताले गर्दा उहाँहरूले प्रयोग गर्ने गाडी छिटो बिग्रिने हुन्छ’ उनले भने, ‘अब यो वर्ष गाडी पुरानो हुँदै जाने भएकाले मर्मतमा धेरै रकम खर्च हुने हाम्रो अनुमान छ  ।’ यस आर्थिक वर्षमा मात्र गाडी मर्मतको लागि १४ वटा निवेदन दर्ता भइसकेको उनले बताए । 

मर्मत तर्फ सबैभन्दा धेरै कर्णाली प्रदेश सचिवालयको गाडी मर्मतमा भएको छ । जसको लागि दुई वटा गाडी मर्मतको लागि ११ लाख बढी रुपैयाँ खर्च भएको छ । त्यसैगरी सभामुख राजबहादुर शाहीले प्रयोग गर्ने गाडी मर्मतको लागि चार लाख ९५ हजार र उपसभामुख पुष्पा घर्तीको दुई लाख ५२ हजार  रकम खर्च भएको सचिवालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेशसभा सांसद पदमबहादुर रोकायको गाडी मर्मतमा चार लाख १४ हजार, अर्थ तथा प्राकृतिक सा्रेत समितिका पूर्वसभापति अम्मरबहादुर थापाको गाडी मर्मतको लागि दुई लाख ६७ हजार, तत्कालिन मुख्य सचेतक गुलाबजंग शाहको दुई लाख ५२ हजार, लेखा समितिका सभापति दिनबन्धु श्रेष्ठको दुई लाख ७८ हजार रकम खर्च भएको छ । पूर्वसामाजिक विकास समितिका सभापति राजु नेपालीको एक लाख २६ हजार, सांसद हिमबहादुर शाहीको दुई  लाख २२ हजार रकम खर्च भएको छ ।

यस्तै प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले प्रयोग गर्ने गाडीको मर्मतको लागि ४० हजार, सचेतक सीताकुमारी नेपालीको ९३ हजार खर्च भएको छ । त्यसैगरी सांसद यामलाल कँडेलले प्रयोग गर्ने गाडी मर्मतको लागि ६८ हजार खर्च भएको छ । सचिवालयका अनुसार एघार थान टायर खरिदमा दुई लाख नौ हजार रकम खर्च भएको छ ।


Author

थप समाचार
x