Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कर्णाली

नेकपा कर्णालीका कार्यकर्ता भन्छन्, ‘हामी यता न उताका भयौं’

लक्ष्मी भण्डारी |
पुस २१, २०७७ मंगलबार १५:३ बजे

वीरेन्द्रनगरको घण्टाघर पार्कमा नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी नेकपाका कार्यकर्ताहरू ।

सुर्खेत : एक साताअघि राष्ट्रिय युवा संघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा युवा भेलाको आयोजना गर्‍याे । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो । सभालाई नेकपा नेता महेश बस्नेतले सम्बोधन गर्दै थिए । दर्शकदीर्घाबाट एक कार्यकर्ताले जुरुक्क उठेर आफ्नो कुरा राखे ‘हामी यता न उताका भयौ, नेताहरू भन्नुहोस कहाँ जाने ?’ उनको अभिव्यक्ति मञ्चमा आसिन नेताहरूले राम्रोसँग सुनेनन् । आफ्नै भाषणलाई निरन्तरता दिइरहे ।

ती कार्यकर्ताका छेउमा रहेका व्यक्तिहरूले उनलाई चुप लागेर भाषण सुन्न गरेको आग्रह उनले पनि त्यसको स्वीकार गरे । सोही कार्यक्रममा सहभागी दुर्गा विकले भोट हाल्नको लागि मात्र प्रयोग भएका सर्वसाधारणहरू कुन् पक्षमा बस्ने भन्ने छुट्याउन समस्या भएको बताइन् । हिजोसँगै जाने भनेर हिडेका नेताहरूमा नै झगडा भएपछि त्यसको असर आफूहरूलाई परेको उनको भनाइ छ । 


ओली समूहले सभा गरेको भोलिपल्ट दाहाल–नेपाल समूहले पनि प्रर्दशनपछि वीरेन्द्रनगरमा कोण सभा  आयोजना गर्‍याे । उक्त कार्यक्रमलाई सम्बोधन नेकपा नेतृ रामकुमारी झाँक्री सुर्खेत आएकी थिइन् । कार्यक्रममा सल्यानका नेकपाका दलबहादुर विकले केन्द्रमा नेकपाको विभाजनले आपूmहरू अन्योलमा परेको बताए । ‘हामी नेकपाका कार्यकर्ता त भयौ तर, कुन पक्षमा जाने हामीलाई समस्या भएको छ’ विकले भने, ‘अहिले कायैकर्तामा भ्रमको सिर्जना भएको छ ।’

पार्टी एक हुने भनेर सँगै कुम जोडेका कार्यकर्ताको अहिले गाउँमा फुटको अवस्था रहँदा उनीहरू कुन् पक्षमा जाने छुट्याउन नसकेको उनले बताए । नेकपा दुई समूहमा विभाजित भएपछि गाउँका कार्यकर्ता अन्योलमा छन् । कतिपयले कुन् पक्षमा जाने भनेर धारणा बनाए पनि कतिपय भने अन्योलमा छन् । कतिपय महिला कार्यकर्ताले भने श्रीमान जता लागे उतै लाग्ने मनसायमा छन् । सुर्खेतको पञ्चपुरी नगरपालिकाकी सरिता बुढाले आपूm श्रीमानसँगै एउटै समूहमा जाने बताइन् । ‘नेताहरू झगडा गरेका छन्, हामी कतातिर जाने समस्या छ’ उनले भनिन्, ‘अब श्रीमानहरूले जहाँ भन्नुहुन्छ त्यही जान्छौ ।’ 

नेकपाका प्रदेशसभा सांसद धर्मराज रेग्मीले पार्टीमा ठूलो दुर्घटना भएका कारण कार्यकताहरूमा अन्योलता हुनु स्वाभाविक रहेको बताउँछन् । ‘यो बेलामा अब कार्यकर्ताहरूले दुवै पक्षकाका कुरा सुन्छन् र आफ्नो धारणा बनाउँछन्’ रेग्मी भन्छन्, ‘कार्यकर्ताले आफ्नो आधिकारिक धारणा बनाएपपछि कुन् पक्षमा जाने भन्ने कुरा आफै निधो गर्छन् ।’ गाउँमा दुवै पक्षले आफ्ना कार्यकर्ताहरू खटाइसकेको रेग्मीले जानकारी दिए ।  उनले ओली समूहले नेतृत्व आधाकारिक रहेको भन्दै नागरिकको अभिमत यसमै रहने दाबी गरे ।

प्रदेशसभाका सांसद शुसिल थापाले अहिलेको अवस्थामा नागरिकहरू समस्यामा रहेको बताए । ‘नागरिकले नेकपालाई ठूलो अपेक्षा राखेका थिए, लाइन लगाएर कोभिडको खोप लगाउने अवस्थामा जुलुशमा लाइन लगाउने अवस्था आयो’ थापा भन्छन्, ‘यो नेपाली इतिहासकै कालो र नागरिकको लागि दुःखदपूर्ण दिनको रुपमा आएको छ ।’ उनले ऐननियम अनुसार आधिकारिक पार्टी दाहाल–नेपाल पक्षले चुनाव चिन्ह पाउनुपर्ने बताउँछन् । कर्णालीमा दाहाल–नेपाल पक्षको दुई तिहाइ बहुमत रहेकाले आफूहरू आधिकारिक रहेको बताउँछन् । नागरिकहरूलाई आधिकारिक पार्टीको विषयमा बुझाउन केही दिनमै कर्णालीमा महाअभियानका रुपमा सञ्चालन गर्ने उनको भनाइ छ । 

नेकपा विभाजनसँगै प्रदेशमा रहेका सांसद तथा नेताहरू आफ्नो पक्षमा कार्यकर्ता रिजाउन लागिपरेका छन् । यतिमात्र होइन उनीहरू घर– घरमा पुगेर आफ्ना पक्षलाई बलियो बनाउन जुटिसकेका छन् । पूर्वमोओवादीभन्दा पूर्वएमालेभित्र अझै यो समस्या बढेको देखिन्छ ।  पूर्वमाओवादी पक्षधरहरू एकैठाउँमा रहेको र पूर्वएमालेमा नै बढी फुटको अवस्था आएको कतिपयको भनाइ छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गा सापकोटाका अनुसार नेकपामा विभाजन भएपछि कार्यकर्तामा पनि नकारात्मक असर पर्ने बताउँछन् । ‘हिजोदेखि एउटै मन भनेर बसेको अवस्थामा त्यसमा फुट आउँदा स्वाभाविक रुपमा नकारात्मक असर पर्न जान्छ’ सापकोटा भन्छन् ‘एक पेटे दुई टाउके सर्प जस्तो  एकआपसमा स्वार्थ बाझिन्छ र तिनीहरूबीच अन्तरद्वन्द्व सुरु हुन्छ ।’ चुनाव चिन्हमा विवाद भएको हुँदा तटस्थ रुपमा बसेका नागरिकलाई यसले असर पर्ने सापकोटाको भनाइ छ । यो बेला अवसरवादीहरु अझै खुकुलो हुने सापकोटाको ठम्याइ छ ।


Author

थप समाचार
x