कर्णाली

कर्णाली प्रदेशसभा बैठक स्थगित, आन्तरिक छलफलमा दलहरू

इकागज |
माघ १७, २०७८ सोमबार १७:४२ बजे

सुर्खेत– कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ। मंगलवार दिउँसो एक बजे बस्नेगरी बैठक स्थगित भएको हो । दलहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा आन्तरिक छलफल गर्नका लागि दलका नेताहरू छलफलमा जुटेका छन् । 

मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही र प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल छलफलमा जुटेका छन्। नवौं अधिवेशनलाई प्रभावकारी बनाउन सांसद नरेश भण्डारीको संयोजकत्वमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह र तथा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीसहित तीन सदस्यीय कार्यदलसमेत निर्माण गरिएको छ । दलहरूबीच आन्तरिक कुरामा छलफल भइरहेको कारण आजको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


त्यसैगरी सरकारले ल्याएका पाँचवटा अध्यादेशहरू सभासमक्ष स्वीकृतिको लागि पेस गर्ने कार्यक्रम रहे पनि प्रमुख प्रतिपक्षले अध्यादेशहरूमा समेत केही त्रुटि रहेको भन्दै विरोध जनाएको थियो। 
 


Author

थप समाचार
x