कर्णाली

नेकपा विवादको असर कर्णाली प्रदेशमा : हिउँदे अधिवेशन नै अनिश्‍चित

इकागज |
माघ ११, २०७७ आइतबार १५:४१ बजे

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेश सभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको विवादका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बनेको हो ।  नेकपा  विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन । 

यस अघिका दुई अधिवेशन कोभिड– १९ महामारीका कारण प्रभावित हुन पुगेका थिए । प्रदेशसभाको बजेट अधिवेशन गत कात्तिक ९ गते अन्त्य भएको थियो । प्रदेश सभा अधिवेशन आह्वान गर्दा सांसदहरुले समूह फेरबदल गरी सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउनसक्ने जोखिम कायमै रहेकाले सरकार तत्काल अधिवेशन बोलाउने तयारीमा छैन ।


 ४० सदस्यीय प्रदेश सभामा हाल नेकपाको दाहाल–नेपाल पक्षमा २२, नेकपाको ओली पक्षमा ११, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा हाल दाहाल-नेपाल समूहको मात्र बर्चस्व छ ।

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सरकारले अधिवेशन बोलाएमा सचिवालय बैठक बसाल्न तयार रहेको जानकारी दिए। ‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ, दुई अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी गर्न मिल्दैन,’ उनले भने, ‘बर्खे  अधिवेशन ढिला अन्त्य भयो, त्यसैले वैशाख ८ गतेसम्म हिउँदे अधिवेशन आह्वान गरिसक्नुपर्छ ।’ सरकारले चाहेमा उक्त मिति अगावै वा प्रदेशसभा सदस्यले चाहेमा विशेष अधिवेशन पनि बोलाउन सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।   

प्रदेशसभा सचिवालयका अनुसार तीन वटा विधेयक विषयगत समितिबाट छलफल पूरा भएर प्रदेशसभा बैठकमा पेश गर्न तयारी अवस्थामा छन् । गत असोजदेखि यता मात्रै सरकारले पाँच विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश प्रहरी सेवा, सूचना प्रविधि तथा आमसञ्‍चार प्रतिष्ठान, पर्वतीय ज्ञान, विज्ञान तथा प्रविधि विश्‍वविद्यालय, शान्ति तथा पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी केही महत्वपूर्ण विधेयकमाथि छलफल हुन सकेको छैन । त्यस्तै नेकपा विवादका कारण प्रदेशसभामा विषयगत समितिका बैठक पनि बस्‍न सकेका छैनन् । 


Author

थप समाचार
x