कर्णाली

सुर्खेत विमानस्थल विस्तारको विकल्प खोजिने

इकागज |
माघ १३, २०७७ मंगलबार १९:० बजे

फाइल तस्बिर

सुर्खेत : सुर्खेत विमानस्थल विस्तारको प्रक्रिया  विवादमा आएपछि वीरेन्द्रनगर नगरपालिकाले वैकल्पिक विकल्प खोज्न आग्रह गर्ने निर्णय गरेको छ । विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले आफूहरुको पुनस्र्थापनाको उचित विकल्प नभएसम्म विस्तार गर्न नदिने अडान लिएपछि कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । 

उक्त बैठकले विमानस्थल विस्तारको विकल्प खोज्न कर्णाली प्रदेश सरकार र  पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । यसअघि वीरेन्द्रनगर नगरपालिकाले विमानस्थल विस्तार गर्दा प्रदेश सरकारले बेहोर्ने खर्चमध्ये पाँच प्रतिशत खर्च बेहोर्ने सहमति भएको थियो ।  विमानस्थल विस्तारका लागि गत असोज १५ मा संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच सम्झौता भएको थियो । 


उक्त सम्झौतापछि विस्तारको काम सुरु गर्ने तयारी गरेको बेला प्रभावित क्षेत्रका नागरिकले काम सुरु गर्न नदिने अडान लिएपछि अहिले विमानस्थल विस्तारको काम रोकिएको छ । यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रभावित क्षेत्रका नागरिकबाट विमानस्थल विस्तार कार्य अघि नबढाउन अनुरोध आएपछि नगरपालिका विमानस्थल विस्तार गर्ने सहमतिबाट पछि हटेको बताए ।

‘वडाका सबै जनप्रतिनिधिहरुले विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने निर्णय लिएर आएपछि हामी बाध्य भयौ’ सुवेदीले भने, ‘अहिलेको अवस्थाअनुसार विमानस्थल विस्तार गर्दा सिंगो वडा नै ध्वस्त हुने भएकोले पनि हामी विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका हौँ ।’ संसरचनाहरुमा कम नोक्सान हुने गरी विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ । 

विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का झण्डै एकहजार घरधुरी प्रभावित हुनेछन् । यता संघीय सरकारले भने विवाद भइरहेको जग्गा अधिग्रहणका लागि अनुमति दिइसकेको छ । विमानस्थल विस्तार गर्दा कुल ३० बिघा   क्षेत्रफल अधिग्रहण गर्नुपर्ने छ । हाल एक हजार दुई ५५ मिटर धावनमार्ग भएको विमानस्थल विस्तार गरेर एकहजार पाँच सय ५५ मिटर बनाउन लागिएको छ । 

सुर्खेत विमानस्थलको धावन मार्ग सानो हुँदा ७२ सिटे जहाज आउन नसकेको र निजी क्षेत्रको एउटा ४२ सिटे जहाजले महँगो भाडा लिने गरेको छ । धावनमार्ग विस्तार भएपछि मध्यम जहाजहरु आउने र भाडा पनि सस्तो हुने अपेक्षा छ । चर्काे भाँडा भएकै कारण अधिकांस कर्णालीबासीहरु नेपालगंज विमान स्थल भएर यात्रा गर्दै आइरहेका छन् । 


Author

थप समाचार
x