कर्णाली

नेकपा विभाजनको असर

प्रदेश स्थापना दिवसमा १४ सांसद् मात्रै सहभागी

लक्ष्मी भण्डारी |
माघ २१, २०७७ बुधबार १८:२५ बजे

सुर्खेत : कर्णाली प्रदेशको स्थापना दिवसमा यो वर्ष न्यून सहभागीता देखियो । प्रदेशसभाको तेस्रो वर्ष पुगेको अवसरमा प्रदेशसभा सचिवालयले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको उत्सव कार्यक्रममा आधा भन्दा कम सांसदहरूको सहभागिता देखिएको हाे ।

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० सांसदमध्ये १४ जना मात्र सांसदहरु कार्यक्रममा सहभागी थिए ।  प्रदेशसभामा नेकपाका ३३ सांसदहरू छन् जसमध्ये ओली समूहका १२ र दाहाल–नेपाल समूहका २१ जना सांसदहरू छन् । 


प्रदेशसभाको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरू विमला केसी, नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का, खड्क खत्री र अमृता शाही मात्रै उपस्थित भए । 

नेकपा विभाजनको असरले कार्यक्रममा कम सांसदको सहभागिता देखिएको हो । दाहाल–नेपाल समूहका सांसदहरूको सहभागिता भए पनि ओली समूहका सांसदहरू भने उपस्थित भएनन् । नेकपा विभाजनसँगै सांसदहरु पार्टीको कार्यक्रम र निर्वाचनमा केन्द्रित हुँदा प्रदेशसभाको कार्यक्रममा न्यून सहभागिता देखिएको हो । नेकपाका सांसद सुशिल थापाले आफ्नो निर्वाचन क्षेत्र दैलेखका नागरिकहरूसँग भेटघाटको कार्यक्रम भएकाले प्रदेशसभाको कार्यक्रममा सहभागी हुन नपाएको बताए । 

अर्का नेकपाका सांसद धर्मराज रेग्मीले पार्टीको कार्यक्रमको लागि काठमाडौं गएकोले कार्यक्रममा सहभागी हुन नसकिएको बताए । दैलेखबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद मिनासिंह रखालले नागरिकहरूसँग भेटघाटमा भएको बताइन् । ‘पार्टीका नेताहरू काठमाडौं जानुभएको छ र यहाँका नागरिकहरूसँग भेटघाट गर्ने जिम्मा मलाई जिम्मा दिनुभएकोले गाउँमै छु’ उनले भनिन्, ‘प्रदेशसभाको कार्यक्रममा जानुपर्ने दायित्व मेरो हो तर, यतातिर व्यस्त भएकोले जान पाइएनँ ।’

यता कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोनाको कारण कम सांसदहरूको सहभागिता रहेको दाबी गरे । ‘हामीले अहिलेको यो माहामारीमा कम सहभागितामै कार्यक्रम गरेका छौ’ सभामुख शाहीले भने, ‘नेकपा विभाजनको कारणले सांसदको कम उपस्थित भएको होइन ।’

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले सांसदहरू आ–आफ्नै काममा व्यस्त भएकोले पनि कार्यक्रममा न्यून सहभागी देखिएको बताए । 
नागरिक समाजका अगुवा पिताम्बर ढकालले प्रदेशसभाको कार्यक्रममा न्यून मात्रामा सांसदको सहभागिता रहेको बताए । 

‘प्रदेश सभा स्थापनाको दिवसमा कम्तिमा सबै सांसदहरूको सहभगिता हुनुपथ्र्यो’ नागरिक अगुवा ढकाल भन्छन्, ‘सांसदहरुले यो दिनलाई कतै त्यति महत्व दिन छोडेका हुन कि भन्ने लागेको छ ।’


Author

थप समाचार
x