कर्णाली

दोस्रो कर्णाली उत्सव २०७७ :

‘मुख्य माण्ठ, मूल कुडा’ सेसनमा मुख्यमन्त्री शाही र राउत

इकागज |
फागुन १, २०७७ शनिबार ९:५४ बजे

काठमाडौँ : दोस्रो कर्णाली उत्सवमा मुख्यमन्त्रीद्वय लालबाबु राउत र महेन्द्रबहादुर शाहीले छलफल गर्ने भएका छन् । पत्रकार दिलभुषण पाठकले सञ्चालन गर्ने ‘मुख्य माण्ठ, मूल कुडा’ सेसनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश २ का मुख्यमन्त्री राउतले छलफल गर्ने पक्का भएको कर्णाली उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए ।

फागुन २६ देखि २९ गतेसम्म सञ्चालन हुने दोस्रो कर्णाली उत्सवमा यो सेसन प्रस्ताव गरेपनि मुख्यमन्त्री राउतको सहभागिता अनिश्चित थियो । शुक्रबार काठमाडौँमा मुख्यमन्त्री राउतले कर्णाली उत्सवमा सहभागिता जनाउने र सेसनमा भाग लिने प्रतिबद्धता जनाएपछि अभाव र गरीबीले थिचिएका दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट आफ्ना भोगाई र अनुभव साटासाट गर्ने भएका हुन् । यो सेसन उत्सवको अन्तिम दिन अर्थात फागुन २९ गते हुनेछ । 


कर्णाली उत्सव आयोजक समितिका सदस्यद्वय पत्रकार प्रकाश लामिछाने र लेखक माधव चौलागाँईले मुख्यमन्त्री राउतलाई शुक्रबार काठमाडौँमै निमन्त्रणा पत्र दिएका हुन् । मुख्यमन्त्री राउतलाई निमन्त्रणा गर्न पत्रकार दिलभुषण पाठक पनि पुगेका थिए । 

गएको वर्ष मुख्यमन्त्री शाही आफ्नो व्यस्तताका कारण पहिलो कर्णाली उत्सवमा सहभागिता जनाउन सकेका थिएनन् । यस वर्ष कर्णाली प्रदेश सरकारले नै मुख्य प्रायोजन गरेको कर्णाली उत्सव मुख्यमन्त्री शाहीले नै उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सोही क्रममा मुख्यमन्त्री राउत र शाहीबीच प्रदेश सरकार गठन, सञ्चालन, व्यवस्थापन, औचित्य र चुनौतिका विषयमा घनीभूत छलफल हुनेछ । संघीय सरकारसँग अधिकार बाँडफाटका विषयमा चर्को असन्तुष्टि राखेका दुवै प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौति पनि प्रस्तुत गर्नेछन् ।

विकासका दृष्टिले पछाडी परेका दुवै प्रदेश संघीय सरकारबाट सधै उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् । ऋति फाउण्डेसनको संयोजनमा कर्णाली उत्सव आयोजक समितिले दोस्रो संस्करणको कर्णाली उत्सव आयोजना गरेको हो । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा हुने उत्सवमा १३ वटा सेसनमा छलफल हुनेछ । 


 


Author

थप समाचार
x