कर्णाली

करोडौँ हिनामिना गरेपछि गाउँपालिकाका प्राविधिक सहायक निलम्बनमा

इकागज |
फागुन २, २०७७ आइतबार ९:३१ बजे

सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक अधिकृत छैटौँ रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको हो । 


निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन् ।

आचार्यले कुनै कारवाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्न समेत चेतावनी दिएका छन् । 

तर सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले सो कार्य नगरेको बताए । यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानी गरेको निमित्त अधिकृत शाहीले बताए ।

“अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु”  उनले भने । रासस 
 


Author

थप समाचार
x