कर्णाली

जमिन माग्दै दैलेख र कालिकोटका बादी समुदाय धर्नामा

लक्ष्मी भण्डारी |
फागुन ११, २०७७ मगलवार १६:१२ बजे

सुर्खेत : दैलेख र कालिकोटका बादी समुदाय जमिन माग्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादर शाहीको कार्यालय नजिकै धर्ना बसेका छन् । खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग राख्‍दै सोमबार बेलुकादेखि उनीहरू मुख्यमन्त्री कार्यालय नजिकै धर्नामा बसेका हुन् । माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरूले बताएका छन् । 

मंगलबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै उनीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताए । कालिकोटबाट आएकी लक्ष्मी बादी छ महिने बच्चा काखमा च्यापेर धर्नामा बसिरहेकी छन् । विशालु च्याउ खाएपछि उनका छोराबुहारी बिते । उनी नातिनी च्यापेर धर्नामा बसेकी छन् ।  परम्परागत पेशाले दैनिकी चलाउन गाह्रो भएपछि भारत गएका छोरा–बुहारी कमाउन कालापहाड गएका छोराबुहारी कालापहाडै बितेपछि टुहुरी नातिनी स्याहार गर्दै बसेकी छन् । ‘हामीलाई जमिन र ओत लाग्ने घर भए पुग्छ’ उनी भन्छिन्, ‘जमिन र बास बस्ने घरको सरकारले व्यवस्था गरिदिन्छ की भनेर यहाँसम्म आएका हौ ।’


माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका यी समूदाय परम्परागत पेशा लोप भएपछि संकटमा रहेका छन् । परम्परागत पेशा लोप भएपछि साँझबिहानको गुजरा चलाउन पनि समस्या भएको बादी समूदायका अगुवा हिक्मत बादीले बताए । 

‘हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ । मादल र सुल्पा बिक्री हुँदैनन,’ उनी भन्छन् ‘हाम्रो अरु केही विकल्प नभएपछि जमिन र घर माग्दै सरकार गुहार्न आएका हौं।’  
स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाइ नभएपछि प्रदेश सरकारसँग जमिन माग्न सुर्खेत आएको धर्ना बसेका प्रेम बादीले बताए । ‘गाउँको सिंहदरवारबाट हाम्रा माग सम्बोधन नभएपछि प्रदेश सरकारको गेटमा धर्ना दिन आएका हौं,’ प्रेम बादीले भने, ‘हाम्रो समूदायलाई स्थायी पूर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किदैनौ ।’
 
जमिन र घर माग्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन। चिसो मौसममा खुल्ला आकाशमुनि धर्नामा बसिरहेका छन् । साना काखेबच्चा च्यापेर पनि धर्नामा बसेका छन् ।  

 परम्परागत पेशाले जीवन धान्न नसकिने भएकाले जमिन माग्न आएको हरि बादीले बताए ।  कालिकोट र दैलेखका करिब चार सयको संख्यामा बादी समूदायहरू सुर्खेतमा आएका छन् ।


Author

थप समाचार
x