निर्वाचनअघि नै चुनिए वडाध्यक्ष र सदस्य
फाइल फोटो
सिमकोट - हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् ।
चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन् ।
वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए ।
उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँहरुको मात्रै मनोनयन दर्ता हुनेछ र उनीहरुलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।
गाउँलेहरुको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।”
५४१ मतदाता
नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ मतदाता सङ्ख्या छ ।
बर्सेनी बैठक मङ्सिरमा
हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्वपूर्ण निर्णय गर्दै आएका छन् । मङ्सिरको अन्तिममा महत्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ । यो पटकको बैठकको एकमात्रै एजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो ।
गाउँलेहरुको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत् वडाध्यक्ष चयन गरेका छन् । त्यहाँका स्थानीयवासीको आफ्नै नीतिनियम छ ।
तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन् । स्थानीयवासीका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ ।
सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया