कर्णाली

कर्णालीबासीको प्रतिव्यक्ति आय एक हजार १४७ डलर पुर्‍याइने

लक्ष्मी भण्डारी |
चैत ६, २०७७ शुक्रबार १६:५९ बजे

सुर्खेत : पाँच वर्षभित्र कर्णालीबासीको प्रतिव्यक्ति आय एक हजार १४७ अमेरिकी डलर पुर्‍याइने लक्ष्य राखिएको छ । कर्णाली प्रदेश योजना आयोगले तयार पारेको प्रथम पञ्चर्षीय योजनामा आर्थिक वर्ष २०७६/७७ देखि ०८०/८१ सम्म प्रतिव्यक्ति आयलाई बढाएर एक हजार १४७ डलर पुर्‍याउने लक्ष्य राखिएको हो । 

अहिले कर्णालीका नागरिकको प्रतिव्यक्ति आय ८२६ डलर छ । गत वर्षदेखि उक्त योजना लागु भएको कर्णाली प्रदेश योजना आयोगका सदस्य दिपेन्द्र रोकायले बताए । रोकायका अनुसार प्रदेशलाई अतिकम विकसितको स्तरबाट ०८०/०८१ भित्र मध्यमस्तरको प्रदेशमा रुपान्तरण गरिने छ ।


पञ्चवर्षीय योजनामा आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य सार्वजनिक गरिएको छ । योजना आयोगले पञ्चवर्षीय योजनासँगै ‘कर्णाली सोच–२१००’ पनि तयार पारेको छ । २५ वर्षलाई ३ चरणमा कार्यविभाजन गरी विकासका मोडल बनाइएको योजना आयोगका सदस्य रोकायाले बताए । उनले २१०० भित्र कर्णालीलाई विकसित प्रदेशमा रुपान्तरण गरी प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको बताए ।

 कर्णाली सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ बनाउने सोच पूरा गर्न पहिलो पाँच वर्षमा ‘समृद्धि र सुखको सिर्जना’ नारासहित शिक्षा, स्वास्थ्य, उत्पादन र पूर्वाधार तयार गरिनेछ ।  पाँच वर्षभित्र कर्णालीको बहुआयामिक गरिबी आधा घटाउने लक्ष्य समावेश गरिएको छ । अहिले ५१.२ प्रतिशत गरिबी रहेको कर्णालीमा ५ वर्षभित्र उक्त दर २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको रोकायाले बताए । उनका अनुसार २५ वर्षभित्र उक्त गरिबीलाई ३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

अहिले ६७.५ प्रतिशत परिवार विद्युतको पहुँचमा रहेको भन्दै प्रदेश सरकारले २०८० सम्म ९० प्रतिशत परिवारमा बिजुली पुर्‍याउने लक्ष्य राखेको हो अहिले ६६ प्रतिशत साक्षरता रहेको प्रदेशमा ५ वर्षभित्र ९५ प्रतिशत पुर्‍याउने लक्ष्य सार्वजनिक गरिएको हो । 

अघिल्लो वर्ष पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरिएको थियो । ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को सोच पूरा गर्न समृद्धिका पाँच र सुखारीका सात गरी १२ वटा लक्ष्य तय गरिएको छ । जसमा ६ वटा प्रदेश रणनीति तय गरिएको सदस्य रोकायको भनाइ छ । 

प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबैको सहयोगले मात्र पञ्चवर्षीय योजना कार्यान्वयन सम्भव भएको बताएका छन् । कर्णाली प्रदेशको साझा एजेण्डा भनेकै बिकास भएकाले यसमा सबैको सक्रिय सहभागिता हुनु पर्ने उनले बताए । कर्णालीमा लगानीको केन्द्रबिन्दु बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको उनको बुझाई छ ।

सरकारको बजेट कार्यन्वयन र नीजी लगानीमा सबैले सहयोग गर्नु पर्ने उनको भनाइ थियो । योजना बनाउनु नै सबै भन्दा उपलब्धी भएकाले यसलाई कार्यन्वयनमा पनि त्यति नै सक्रिय बनाउनु पर्ने शाहीले बताए ।


Author

थप समाचार
x